स्टार कि पात्र ? के आधारमा तोकिन्छ कलाकारको पारिश्रमिक ?

स्टार कि पात्र ? के आधारमा तोकिन्छ कलाकारको पारिश्रमिक ?

काठमाडौं : केही महिनाअघि फिल्म ‘माग्ने राजा’को प्रदर्शनको समयमा मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चाले बजार तात्यो। यो विषय निर्माता र केदारबीचको लेनदेनमा मात्र सीमित रहेन, स्वयम् केदारले आफूले त्यत्रो रकम नलिएको स्पष्टीकरण नै दिनुपर्यो।

यतिबेला अभिनेत्री अञ्जना बराइलीको पारिश्रमिकले चर्चा पाइरहेको छ। उनले 'डेब्यु' फिल्म ‘महापुरुष’ बाटै सफलताको स्वाद चाखिन्, त्यसपछि उनको अभिनय रहेको फिल्मले लगातार राम्रो कमाइ गरे। उनले अभिनय गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ नेपालकै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो। ४८ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको यस फिल्मपछि उनको पारिश्रमिक २० लाख रुपैयाँभन्दा माथि पुगेको चर्चा छ अहिले।

यसअघि अनमोल केसी, प्रदीप खड्का, पुष्प खड्का र पल शाहले ५० लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेको चर्चा हुने गर्थ्यो। अभिनेत्रीहरूको सन्दर्भमा पूजा शर्माले एउटा फिल्मका लागि २० लाख पारिश्रमिक लिएको चर्चा चलेको थियो, तर पछिल्लो पाँच वर्षयता उनको पारिश्रमिकको चर्चा पहिले जस्तो छैन। बरु साम्राज्ञी आरएल शाह, स्वस्तिमा खड्का, केकी अधिकारी र वर्षा राउतको पारिश्रमिकले समय-समयमा चर्चा पाउने गरेका छन्।

त्यस्तै, फिल्म ‘१२ गाउँ’ बाट डेब्यु गरेका अभिनेता समीर भट्टको पारिश्रमिक पनि निकै उच्च रहेको दाबी हुने गरेको छ। नयाँ कलाकार मात्र होइन, कुनै समय महानायक राजेश हमालले एउटा फिल्म खेलेबापत २ लाख रुपैयाँ लिन्छन् भन्ने कुराले पनि फिल्म वृत्तमा निकै चर्चा हुन्थ्यो।

विश्व बजारमा कलाकारको अभिनय क्षमता र उसको ‘स्टारडम’का आधारमा पारिश्रमिक फरक-फरक हुने नियम छ।तर नेपालमा पारिश्रमिकको मात्र चर्चा हुन्छ,स्टारडमको हैन। नेपालमा कलाकारकै आधारमा फिल्मको लगानी त के कलाकारलाई दिएको पारिश्रमिक बराबरको व्यापार नभएका फिल्म पनि टन्नै छन्। तर लाखौ लिएको हल्ला भने घटेको छैन।

कसरी छानिन्छन् कलाकार ?

निर्देशक प्रदीप भट्टराई फिल्मको बजेटअनुसार नै कलाकारको खोजी गरिने बताउँछन्। उनी कथा बेच्ने कि स्टारडम बेच्ने भन्ने कुराले कलाकार छनोटको आधार तय गर्ने ठान्छन्।

"कलाकारको पारिश्रमिकको हिसाब फरक-फरक हुन्छ। निर्देशक र निर्माताको आफ्नै किसिमको दृष्टिकोण हुन्छ। म निर्देशक भएकाले मेरो प्राथमिकता मैले लेखेको चरित्रलाई न्याय गर्न सक्ने कलाकार नै हुन्छ," उनले भने "सबैभन्दा पहिला कलाकार चरित्रसँग मेल खान्छ कि खाँदैन भन्ने हेर्छु। त्यसपछि मात्रै निर्माताले त्यो भूमिकाका लागि कति बजेट छुट्याएका छन् भन्ने कुरा आउँछ। पहिला बल निर्माताको कित्तामा जान्छ।"

उनले उदाहरण दिँदै थपे, "कुनै क्यारेक्टरका लागि १५ लाख रुपैयाँ बजेट छ भने म सोही दायराभित्रका कलाकार खोज्न थाल्छु। ५० लाख लिने कलाकारसँग कुरा मिल्दैन। कतिपय अवस्थामा कलाकारलाई 'बजारले तिमीलाई एक करोड दिनुपर्ने हो, तर हामीसँग यति मात्र बजेट छ' भनेर पनि प्रस्ताव गरिन्छ। स्क्रिप्ट हेरेपछि कलाकारले चित्त बुझाए भने मात्र काम अघि बढ्छ।"

कथा मन परेमा कतिपय कलाकारले तोकिएको भन्दा कम बजेटमा पनि काम गर्ने गरेको उनी बताउँछन्। राम्रो सिनेमा बन्ने सम्भावना छ भने कलाकारले पात्रको माया गरेर पारिश्रमिकमा सम्झौता गर्ने गरेको र सबै प्रोजेक्ट पैसाका लागि मात्र नहुने उनले सुनाए। 

यता अभिनेत्री केकी अधिकारी निर्माण टिमसँगको संवाद र स्क्रिप्टको आधारमा फिल्म छनोट गर्ने बताउँछिन्। फिल्मी बजारमा कसको अभिनय रहेको फिल्म हिट भयो भन्ने आधारले पनि पारिश्रमिक तोकिने उनको अनुभव छ।

"कथा र टिम तयार भएपछि कुन कलाकार सुहाउँछ भन्ने सल्लाह हुन्छ। बजारमा को चलिरहेको छ र कसको पछिल्लो फिल्म हिट छ भन्ने आधारमा पनि पारिश्रमिकको कुरा गरिन्छ," निर्मात्रीसमेत रहेकी केकी भन्छिन्, "कलाकार छनोट दुई तरिकाले हुन्छ- एउटा कथा तयार भएपछि कास्टिङ हेरिन्छ भने अर्को कलाकारलाई नै सोचेर कथा लेखिन्छ।"

उनले निर्माताको बजेट र आफ्नो मूल्याङ्कनको बीचमा सहमति भएपछि मात्रै सम्झौता हुने बताइन्। निर्माण पक्षले फिल्मको प्रस्ताव राख्दा सुरुमा कथा सुन्ने र कथा चित्त बुझ्यो भने निर्माण पक्षबाटै‘कति पारिश्रमिकमा काम गर्नुहुन्छ ?’ भनेर सोध्ने गरेको उनले सुनाइन्।

"त्यसपछि हामीले आफ्नो पारिश्रमिक भन्छौँ। निर्माण पक्षले पनि आफ्नो तयारी र कलाकारको क्षमताका आधारमा आफ्नै किसिमले मूल्यांकन गरेको हुन्छ। दुवै पक्षबीच छलफल हुँदा उहाँहरूले आफ्नो बजेटको सीमा बताउनुहुन्छ। यसरी आपसी समझदारीबाट एउटा निश्चित रकममा सहमति जुटेपछि मात्रै सम्झौता (कन्ट्रयाक) साइन हुन्छ।”

अभिनेत्री पूजा शर्मा भने ठाउँ र परिवेशअनुसार आफ्नो पारिश्रमिक निर्धारण हुने बताउँछिन्। काठमाडौं आसपास र छोटो भूमिका भए कम र उपत्यका बाहिरको सुटिङ भए बढी पारिश्रमिक लिने उनको शैली छ।

"मैले गर्ने काम कति छ र कहाँ-कहाँ जानुपर्ने हो, त्यसैले पारिश्रमिक निर्धारण गर्छ। हिरोहरूले अभिनय गर्दा दोब्बर पारिश्रमिक लिन्छन्, तर हामी महिला कलाकारलाई कम पारिश्रमिकमा हेरिन्छ। प्रमोसनमा भने हामी नै बढी खटिनुपर्छ। त्यसैले सुटिङ लोकेसन, कामको चाप, समय सबै बुझेर मात्र म फिल्मका लागि राजी हुन्छु" उनले भनिन्।

पछिल्लो समय व्यस्त रहेका अभिनेता महेश त्रिपाठी भने आफ्नो कामअनुसारको पारिश्रमिक लिने बताउँछन्। धेरै पारिश्रमिकको चाहना भए पनि निर्माताको अवस्था बुझ्नुपर्ने उनको तर्क छ।

उनी भन्छन्, "नेपाली फिल्म उद्योग बाहिर हल्ला गरिए जस्तो ठूलो छैन। आपसी समझदारीमै काम गर्नुपर्ने अवस्था छ। मलाई पारिश्रमिक तोक्न अप्ठ्यारो लाग्छ, त्यसैले बजारको अवस्था हेरेर कुरा गर्छु।"

दर्शक तान्न कथा कि स्टारडम ?

नेपालमा मात्र नभई बलिउड र हलिउडमा पनि कलाकारलाई पारिश्रमिक दिने दुई वटा आधार छन्। मुख्य त स्टारडम नै पारिश्रमिकको मुख्य आधार हेरिन्छ। कुन कलाकारको हलमा आउने फ्यान फलोइङ कस्तो छ भन्ने आधार मुख्य देखिन्छ। अर्को भनेको अभिनय पनि हो। तर नेपालको हकमा भने चर्चा नै पारिश्रमिकको मुख्य आधार देखिन्छ। आफूले लिएको पारिश्रमिक बराबरको ब्यापारसमेत गराउन नसकेका कलाकारहरुले पनि पारिश्रमिक भने मोटै मागिरहेको देखिन्छ।

अभिनेत्री पूजा शर्मा भने आफ्नो छुट्टै 'फ्यान फलोइङ' भएकाले फिल्ममा लिएको पारिश्रमिक बराबरको व्यापार हुने दर्शक हलसम्म तान्न सक्ने दाबी गर्छिन्।

“मलाई फिल्ममा लिएपछि आफ्नो जिम्मेवारी र दिइएको पारिश्रमिक अनुसार लगानी उठाउनुपर्ने विषयमा म सधैं सचेत हुन्छु। मैले कति मेहेनत गर्दा फिल्मको लगानी उठ्न सक्छ भन्नेमा मलाई पूर्ण आत्मविश्वास हुन्छ। त्यसैले, कथा मन परेपछि निर्माता तथा निर्देशकसँग ‘म यति दर्शक हलसम्म तान्न सक्छु’ भन्ने आत्मविश्वासका साथ कुरा गरेर फिल्म साइन गर्छु। अहिलेसम्म मैले जति पनि फिल्ममा काम गरेँ, सोहीअनुसार काम गरेकी छु” उनले भनिन्।

यद्यपि, केकी अधिकारीको बुझाइ पूजाको भन्दा फरक छ। उनी दर्शकको प्राथमिकतामा तुलनात्मक रूपमा हेर्दा महिला कलाकार कम रहेको ठान्छिन्।

उनी भन्छिन्, "यति दर्शक तान्ने कुरामा अभिनेत्रीहरूमा हुँदैन। इमानदार भएर भन्दा, अभिनेताहरूमा निर्धारण गरिरहेको हुन्छन्। निर्माता र स्वयं अभिनेताहरूले पनि त्यसरी काम गर्छन् होला, मैले सुनेको पनि छु। बजारले महिला कलाकारलाई कहिल्यै ‘अडियन्स पुलर’ (दर्शक तान्न सक्ने पात्र) का रूपमा व्याख्या नै गर्दैन। न फिल्म उद्योगले गर्छ। इभन हामी आफैले पनि गर्दैनौं। एकाध छिटपुटको घटना बाहेक त्यस्तो भएको भएको छैन।"

निर्देशक प्रदीप भट्टराई भने निर्देशकले कथा बेच्न खोजेको हो कि स्टारडम भन्नेमा सबै कुरा निर्भर रहने बताउँछन्। कन्टेन्ट प्रधान सिनेमा हो भने कथाकै विश्वास हुने र स्टारडम बेच्ने हो भने सोहीअनुसारको कलाकार खोज्नुपर्ने उनले बताए।

"स्टार बेच्ने संसारकै नियम हो। धेरै स्टार राखेर फिल्म बनाइन्छ भने त्यहाँ स्टारडम नै बिक्छ" उनले भने "यदि कन्टेन्ट बेच्ने हो भने कलाकारले पनि सम्झौता गर्छन्, तर स्टारडम बेच्ने हो भने कलाकारले पनि सोही अनुसारको महँगो रकम माग्छन्।"

अभिनेता महेश त्रिपाठी आफूलाई स्टारभन्दा कथाले बनाएको पात्र र कलाकारको रूपमा लिन्छन्।

उनी भन्छन्, "म निर्देशकले देखेको चरित्र निभाउने प्रयास गर्छु र त्यसैको पारिश्रमिक लिन्छु। आफूलाई स्टार भन्ने तर दर्शक तान्न नसक्ने हो भने त्यसको अर्थ रहँदैन। म आफूलाई कलाकारकै रूपमा चिनाउन चाहन्छु।"

पुष १२, २०८२ शनिबार १९:३७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।