सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा गाउँपालिकाका कार्यालय सहयोगीको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा गाउँपालिकाका कार्यालय सहयोगीको मृत्यु

मलङ्गवा : सर्लाहीको बलरा नगरपालिका-१०, सुदामामा भएको मोटरसाइकल दुर्घटनामा परी रामनगर गाउँपालिकाका एक कर्मचारीको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामनगर गाउँपालिका-१, खैर्वा निवासी ४० वर्षीय सञ्जय यादव रहेका छन्। उनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार सुदामा ब्यारेज नजिकै ‘मप्र ०३-०२ प ३७४४’ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा यादवको ज्यान गएको हो।

बिहीबार बिहान स्थानीय बासिन्दाले दुर्घटनाग्रस्त मोटरसाइकल र यादवको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

यादव बुधबार साँझ रामनगर-५ स्थित गाउँपालिका अध्यक्ष राजाबाबु यादवको घरबाट गाउँपालिकाकै मोटरसाइकल चढेर आफ्नो घरतर्फ फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

घटना राति नै भएको हुनसक्ने देखिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पुष १०, २०८२ बिहीबार १३:३८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।