जेफ्री एपस्टाइनसँग सम्बन्धित १० लाखभन्दा बढी कागजात फेला, सार्वजनिक गर्ने तयारी
एजेन्सी : अमेरिकी अधिकारीहरूले यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित हुन सक्ने १० लाखभन्दा बढी कागजातहरू फेला पारेको बताएका छन्।
अधिकारीहरूका अनुसार उनीहरूले आगामी दिन तथा हप्ताहरूमा यी कागजातहरू सार्वजनिक गर्ने योजना बनाइरहेका छन्।
अमेरिकी अनुसन्धान निकाय ‘फेडेरल ब्युरो अफ इन्भेस्टिगेशन’ (एफबीआई) र न्यूयोर्कका संघीय अभियोजकले अमेरिकी न्याय विभागलाई यी फाइलहरूबारे जानकारी गराएका हुन्।
यस विषयमा न्याय विभागले बुधबार जानकारी दिँदै भनेको छ, ‘हाम्रा वकिलहरू पीडितहरूको सुरक्षाका लागि कानुनी रूपमा आवश्यक परिमार्जन र समीक्षा गर्न चौबिसै घण्टा खटिएका छन्। हामी जतिसक्दो चाँडो कागजातहरू जारी गर्नेछौं।’
विभागका अनुसार सबै फाइलहरू सार्वजनिक हुन अझै ‘केही हप्ता’ लाग्न सक्छ। एक नयाँ कानून अन्तर्गत विभागले तोकिएको समयसीमा भित्र यी कागजातहरू सार्वजनिक गर्नुपर्ने थियो।
गत डिसेम्बर १९ सम्म एपस्टाइन प्रकरणसँग सम्बन्धित सबै फाइलहरू सार्वजनिक नभएपछि अहिले न्याय विभागको छानबिन भइरहेको छ।
पुष १०, २०८२ बिहीबार ०८:०६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।