२८ लागे ‘सैयारा’ म्यान अहान : अनितसँग अफेयरको चर्चा, निर्देशकले ‘छपरी’ भनेर टिकटक भिडियो डिलिट गराए

२८ लागे ‘सैयारा’ म्यान अहान : अनितसँग अफेयरको चर्चा, निर्देशकले ‘छपरी’ भनेर टिकटक भिडियो डिलिट गराए

एजेन्सी : बलिउड अभिनेता अहान पाण्डेले मंगलबार आफ्नो २८औं जन्मदिन मनाएका छन्। सन् १९९७ मा मुम्बईमा जन्मेका अहानले बलिउडमा डेब्यु गर्नुअघि टिकटकमा शाहरुख खान र रणवीर कपुर जस्ता स्टारहरूको नक्कल गर्दै थुप्रै भिडियोहरू बनाएका थिए।

तर, उनको पहिलो फिल्म ‘सैयारा’का निर्देशक मोहित सुरीले ती पुराना टिकटक भिडियोहरू डिलिट गराइदिए। ती भिडियोहरू हिरोको गम्भीर छविसँग मेल नखाने ‘क्रिन्ज’ वा अलि सस्तो खालका भएकाले निर्देशक सुरीले हटाउन लगाएका थिए।

अहानको पहिलो फिल्म नै बक्स अफिसमा ब्लकबस्टर साबित भयो। सन् २०२५ को दोस्रो सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको यसले विश्वभर ५५० करोडभन्दा बढीको व्यापार गर्यो। फिल्ममा अल्जाइमर पीडित प्रेमिकालाई साथ दिने वफादार प्रेमीको भूमिका निभाएका अहानको अभिनयलाई युवापुस्ताले निकै रुचाए।

उनको डेब्युलाई शाहरुख खान र आमिर खानका छोराहरूको भन्दा पनि ठूलो र सफल डेब्यु मानिएको छ। यसका लागि उनले ‘डेब्युटेन्ट अफ द इयर’ अवार्ड पनि जितेका छन्।

अहान बलिउड अभिनेता चंकी पाण्डेका भतिजा र अभिनेत्री अनन्या पाण्डेका कजन हुन्। उनका पिता चिक्की पाण्डे सफल व्यवसायी हुन् भने आमा डिन पाण्डे प्रसिद्ध फिटनेस एक्सपर्ट र लेखिका हुन्। उनका हजुरबुवा डा. शरद पाण्डे भारतमा पहिलो मुटु प्रत्यारोपण गर्ने टिमका सदस्य थिए।

अहानले मुम्बई विश्वविद्यालयबाट सिनेम्याटिक आर्ट्स र फिल्म प्रोडक्सनमा स्नातक गरेका छन्। उनले ‘सैयारा’ भन्दा अघि सन् २०१६ मा आफ्ना काका चंकी पाण्डेसँग ‘फिफ्टी’ नामक छोटो फिल्ममा पनि काम गरिसकेका थिए।

साथै, ‘फ्रीकी अली’, ‘रक अन २’, ‘मर्दानी २’ र ‘द रेलवे मेन’ जस्ता प्रोजेक्टमा सहायक निर्देशकका रूपमा पनि काम गरेर अनुभव बटुलिसकेका छन्।

मोहित सुरीका अनुसार, अहानले यशराज फिल्म्ससँग ७ वर्षदेखि वर्कशप गरिरहेका थिए। उनी यसअघि नै यशराजको एक ठूलो बजेटको फिल्मबाट डेब्यु गर्ने तयारीमा थिए, तर कोभिडका कारण त्यो फिल्म बन्न सकेन। पछि आदित्य चोपडाले उनलाई ‘सैयारा’का लागि मौका दिए।

‘सैयारा’को सफलतासँगै अहान र उनकी को-स्टार अनित पड्डाको प्रेम सम्बन्धको हल्ला चलेको थियो। तर, अहानले यसलाई अस्वीकार गर्दै उनीहरू केवल राम्रो साथी भएको बताए।

बलिउड परिवारबाट आए पनि अहान आफूलाई ‘स्टारकिड’ मान्दैनन्। उनले आफ्ना बुबा स्टार नभएकोले आफ्नो संघर्षलाई नेपोटिज्मसँग जोड्न नहुने तर्क गर्छन्। यद्यपि, उनी आर्यन खान र सुहाना खानका नजिकका साथी हुन्।

‘सैयारा’को सफलतापछि अहान अब यशराज फिल्म्सकै ब्यानरमा बन्ने एक्सन-रोमान्टिक फिल्मको तयारीमा जुटेका छन्। अली अब्बास जफरले निर्देशन गर्ने यो फिल्मको सुटिङ २०२६ को सुरुमा सुरु हुनेछ। यसबाहेक सञ्जय लीला भन्सालीको आगामी फिल्ममा पनि उनी देखिन सक्ने चर्चा छ।

पुष ९, २०८२ बुधबार १०:११:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।