वर्षाको ‘हर्ष’डुब्यो, ‘मालती मंगले’ के होला ?
काठमाडौं : अभिनेत्री वर्षा राउतबारे अहिले फिल्म क्षेत्रमा एउटा चर्चा चलेको छ- फिल्मको कलेक्सनभन्दा पारिश्रमिक मोटो! हालै प्रदर्शनमा आएको फिल्म 'हर्ष'को ग्रस कलेक्सन २८ लाख छ।
साँढे २ करोड लागतमा बनेको यस फिल्मबाट निर्माताको हातमा ८-१० लाख पर्ने देखिन्छ। 'हर्ष'बाट निर्माताको हातमा पर्ने रकमभन्दा धेरै अभिनेत्री राउतको पारिश्रमिक रहेको विषयबारे फिल्मनगरिमा चर्चामा भइरहेको हो।
म्युजिक भिडियो हुँदै फिल्म ‘नाइँ नभन्नु ल ४’बाट डेब्यु गरेकी अभिनेत्री राउतले त्यसयता थुप्रै फिल्ममा अभिनय गरिन। उनको कामको खुबै चर्चा हुन्थ्यो। केही वर्ष यता भने उनको न चर्चा हुन्छ, न उनको कामको तारिफ।
फिल्मको व्यावसायिक पक्ष सुखद नरहे पनि उनको लागि फिल्मको अफर आइरहनु सुखद पक्ष हो। फिल्म 'हर्ष' लगत्तै उनले अर्को फिल्म ‘मालती मंगले’मा अभिनय गरिन्। ‘हर्ष’मा खगेन्द्र लामिछानेको अपोजिटमा रहेकी उनी ‘मालती मंगले’मा विजय बरालको अपोजिट रहने छन्। दुवै थिएटरका कलाकार हुन्।
अभिनेता खगेन्द्र लामिछानेसँगको जोडीका रूपमा दर्शकमाझ नरुचाइएकी वर्षा अब ‘मालती मंगले’मा अभिनेता विजयको जोडीका रूपमा कत्तिको जम्ने हुन्? त्यसको लागि चलचित्र प्रदर्शनसम्म प्रतीक्षा गर्नुपर्छ।
तर लगातार पछिल्ला फिल्महरूले बक्स अफिसमा अपेक्षाकृत व्यापार गर्न नसक्दा उनलाई 'फ्लपको ह्याट्रिक' गरेको टिप्पणी हुन थालेको अवस्थामा करिअरलाई उचाइमा टिकाइराख्न स्क्रिप्ट र कथाको छनोटमा पनि उत्तिकै ध्यान दिनु बुद्धिमानी हुन्छ कि !
पुष ७, २०८२ सोमबार १७:५५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।