बक्स अफिस : ‘परान’को कमाइ लोभलाग्दो हुँदा ‘चिराग’को ६८ हजार मात्र
काठमाडौं : चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस तथ्यांकअनुसार नेपाली फिल्मको सर्वकालीन कमाइको सूचीमा ‘परान’ समेटिएको छ भने सोही अवधिमा रिलिज भएका अन्य फिल्महरूको व्यावसायिक अवस्था भने उत्साहजनक देखिएन।
गत कार्तिक १४ गतेबाट प्रदर्शनमा आएको दीपकप्रसाद आचार्य निर्देशित फिल्म ‘परान’ले प्रदर्शनको ५१औँ दिन (पुस ५ गते) सम्म आइपुग्दा १७ करोड ६१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। ६ लाख २५ हजार बढी थान टिकट बिक्री भएको परान नेपाली फिल्म इतिहासको सर्वाधिक कमाइ गर्ने चौथो नम्बरमा सूचीमा पुगेको छ। फिल्ममा नीर शाह, महेश त्रिपाठी र अञ्जना बराइली मुख्य भूमिकामा छन्। निर्देशक आचार्यकै कथामा निर्माण भएको यो फिल्मले लामो समयसम्म हलमा दर्शकको साथ पाइरहेको छ।
मंसिर १२ गतेबाट प्रदर्शनमा आएको एकता पौडेल निर्देशित फिल्म ‘हर्ष’ले २८ लाख ७८ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह र सन्तोष पन्त जस्ता स्थापित कलाकारहरूको अभिनय रहेको फिल्मले अपेक्षाकृत दर्शक तान्न सकेन। बोर्डको तथ्यांक अनुसार यसका ८ हजार ८ सय थान टिकट बिक्री भएका छन्। करिब साढे २ करोड लगानीमा बनेको भनिएको यो फिल्मले निर्मातालाई डुबायो।
त्यस्तै, ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको लगानीमा बनेको अर्को फिल्म ‘अभिमन्यु’ले करिब साढे २१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा र किरण श्रेष्ठ अभिनीत यस फिल्मका ६ हजार ८ सय ५० थान टिकट बिक्री भएका छन्।
मंसिर २६ गतेबाट प्रदर्शनमा आएको शोभित बस्नेत निर्देशित फिल्म ‘पिआर’ले देशभरबाट ६ लाख ६८ हजार रुपैयाँ मात्र कमाउन सफल भयो। अष्ट्रेलियामा बसोबास गर्ने कलाकारहरूको अभिनय रहेको र नीर शाह एवं गौरी मल्लको अतिथि भूमिका रहेको यस फिल्मका लागि २ हजार १ सय ९ थान टिकट बिक्री भएका छन्।
‘पिआर’ सँगै प्रदर्शनमा आएको फिल्म ‘लोकन्ती’ले १ हजार ३ सय ५७ थान टिकट बिक्री गर्दै ४ लाख रुपैयाँ संकलन गरेको छ।
यसैबीच, मंसिर ५ गतेबाट प्रदर्शनमा आएको ‘चिराग’को व्यापार पनि निकै निराशाजनक देखिएको छ। बोर्डको तथ्यांकअनुसार फिल्मले ३ सय ३० थान टिकट बिक्री गर्दै कुल ६८ हजार ४५० रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ। त्यागमूर्तिको निर्देशनमा बनेको यो फिल्मको कमाइ अहिलेसम्मकै कम हो। फिल्ममा सुशील पोखरेल, प्रज्ञा जोशी लगायतको अभिनय रहेको छ।
पुष ७, २०८२ सोमबार १६:३३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।