अष्ट्रेलियाको बोन्डी बीचमा गोली चलाउने बाबु-छोराले गोप्य तालिम लिएको खुलासा, आक्रमणअघि राखेका थिए चार वटा बम

अष्ट्रेलियाको बोन्डी बीचमा गोली चलाउने बाबु-छोराले गोप्य तालिम लिएको खुलासा, आक्रमणअघि राखेका थिए चार वटा बम

सिड्नी : अष्ट्रेलियाको बोन्डी बीचमा गत डिसेम्बर १४ मा भएको आक्रमणबारे अदालतमा नयाँ र गम्भीर तथ्यहरू बाहिर आएका छन्।

अदालतमा पेश गरिएको दस्तावेज अनुसार, आक्रमणमा संलग्न बाबु र छोराले आक्रमण अघि एउटा गाउँको गोप्य ठाउँमा हतियार चलाउने विशेष तालिम लिएका थिए।

अनुसन्धानका क्रममा ५० वर्षीय बाबु साजिद अकरम र २४ वर्षीय छोरा नविद अकरमको एउटा भिडियो फेला परेको छ। उक्त भिडियोमा उनीहरू राइफल र सटगन बोकेर फौजी शैलीमा अघि बढ्दै गोली चलाउने अभ्यास गरिरहेको देखिन्छ।

यहुदी समुदायले ‘हनुक्का’ पर्व मनािरहेका बेला बोन्डी बीचमा यो आक्रमण भएको थियो। अन्धाधुन्ध गोलीबारीमा १५ जनाको ज्यान गएको थियो।

प्रहरीको जवाफी कारबाहीमा बाबु साजिद अकरम मारिएका थिए भने छोरा नविदलाई पक्राउ गरिएको थियो। नविदमाथि अहिले आतंकवाद, १५ जनाको हत्या र ४० जनाको हत्या प्रयासको मुद्दा चलाइएको छ।

अदालतका अनुसार, गोली चलाउनु अघि बाबु-छोराले मानिसहरूको भिडमा ४ वटा घरेलु बम (३ वटा पाइप बम र एउटा टेनिस बल बम) फ्याँकेका थिए। तर, भाग्यवश ती बमहरू पड्किएनन्। उनीहरू आएको गाडीमा पनि अर्को बम भेटिएको थियो।

अनुसन्धान अधिकारीहरूले आक्रमणकारीहरूले रेकर्ड गरेका केही भिडियोहरू पनि फेला पारेका छन्। जसमा उनीहरू ‘इस्लामिक स्टेट’को झन्डा अगाडि उभिएर कट्टरपन्थी कुराहरू गरिरहेको देखिन्छन्।

अदालतले यो आक्रमण अचानक नभई महिनौंको योजना, तालिम र तयारीपछि गरिएको निष्कर्ष निकालेको छ।

पुष ७, २०८२ सोमबार ११:३२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।