एपस्टीन सेक्स प्रकरणको फाइलबाट हटाइएका ट्रम्पका तस्बिर पुन: अपलोड, मेलानिया ट्रम्प पनि देखिइन्
एजेन्सी : अमेरिकी न्याय विभागले यौन अपराधी जेफ्री एपस्टीनसँग सम्बन्धित कागजातहरूमा रहेको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिरलाई पुनः वेबसाइटमा राखेको छ।
उक्त तस्बिरमा ट्रम्पकी पत्नी मेलानिया ट्रम्प पनि छिन्। यसअघि पीडितहरूको पहिचान खुल्न सक्ने आशंकामा यो तस्बिर हटाइएको थियो।
न्युयोर्कका सरकारी वकिलहरूले उक्त तस्बिरका कारण एपस्टीन प्रकरणका पीडितहरूको पहिचान सार्वजनिक हुन सक्ने चिन्ता व्यक्त गरेका थिए।
सावधानी अपनाउँदै वेबसाइटबाट ट्रम्पको तस्बिर सहित कुल १६ वटा फाइल हटाइएको थियो। जसमा ट्रम्प बाहेक पोप जोन पल द्वितीयको तस्बिर भएको फ्रेम पनि थियो।
तर, अनुसन्धानपछि उक्त तस्बिरमा कुनै पनि पीडित नरहेको र सुरक्षाको खतरा नभएको पुष्टि भएपछि विभागले तस्बिरलाई बिना कुनै परिवर्तन पुनः जारी गरेको हो।
विपक्षीको आरोप: ट्रम्पलाई बचाउने प्रयास
तस्बिर हटाइएलगत्तै विपक्षी डेमोक्र्याट नेताहरूले सरकारले ट्रम्पलाई बचाउन खोजेको आरोप लगाएका थिए।
यद्यपि, डिप्टी अटर्नी जनरल टड ब्लान्चले यसको खण्डन गर्दै पीडितहरूको अधिकार र सुरक्षाका लागि मात्र फाइलहरू अस्थायी रूपमा हटाइएको र यसको ट्रम्पसँग कुनै सम्बन्ध नभएको स्पष्ट पारे।
पीडितहरूको तर्फबाट वकालत गरिरहेकी वकिल ग्लोरिया अल्रेडले भने जारी गरिएका कागजातहरूमा पीडितहरूको नाम र तस्बिर राम्रोसँग नलुकाइएको भन्दै आपत्ति जनाएकी छन्।

उनले यसबाट पीडितहरूलाई पुनः पीडा पुगेको बताइन्। संसद्ले सबै कागजात सार्वजनिक गर्न आदेश दिए पनि सरकारले थोरै र अधुरा फाइल मात्र बाहिर ल्याएको भन्दै आलोचना भइरहेको छ।
३ लाख दस्तावेज सार्वजनिक: को-को देखिए?
शुक्रबार राति सार्वजनिक गरिएका करिब ३ लाख दस्तावेजहरूमा धेरै चर्चित व्यक्तिहरूको नाम र तस्बिरहरू छन्। चर्चित अनुहारहरूमा पूर्व राष्ट्रपति बिल क्लिन्टन, पप स्टार माइकल ज्याक्सन, टिभी होस्ट ओपरा विन्फ्रे लगायत छन्।
यी नयाँ रेकर्डहरूमा ट्रम्पको नाम खासै उल्लेख छैन, तर फेब्रुअरीमा जारी गरिएको फ्लाइट लग्समा भने उनको नाम थियो। पीडितहरूको एफबीआई अन्तर्वार्ता र एपस्टीनलाई पहिले किन कम सजाय भयो भन्ने फैसलाका कागजातहरू भने अझै सार्वजनिक गरिएको छैन।
ट्रम्प र एपस्टीन ‘जिगरी साथी’
ट्रम्प र एपस्टीनको पुरानो सम्बन्धलाई लिएर चर्चा चलेको छ।
सन् २००२ मा ट्रम्पले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘म जेफलाई १५ वर्षदेखि चिन्छु, उनी गजबका मान्छे हुन्। हामी दुवैलाई कम उमेरका सुन्दरी युवतीहरू मन पर्छन्।’
पछि जग्गा विवादका कारण उनीहरूको सम्बन्ध बिग्रिएको थियो र ट्रम्पले सन् २०१९ मा आफूहरूबीच लामो समयदेखि बोलचाल नभएको बताएका थिए।
सार्वजनिक दस्तावेजमा एक एफबीआई एजेन्टको बयान पनि छ, जसमा १४ वर्षकी एक बालिकालाई स्कुल पछि एपस्टीनसँग भेटाएर ‘मसाज’को नाममा यौन शोषण गरिएको डरलाग्दो विवरण उल्लेख छ। ती बालिकालाई अरू केटीहरू ल्याउन लगाएर एउटा जालो नै बनाइएको थियो।
पुष ७, २०८२ सोमबार ०८:१५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।