स्टन्टबाजीको रोगबाट जोगिन आग्रह गर्दै प्रचण्ड भने : निर्वाचन बिथोल्ने काम कसैले नगरोस्

स्टन्टबाजीको रोगबाट जोगिन आग्रह गर्दै प्रचण्ड भने : निर्वाचन बिथोल्ने काम कसैले नगरोस्

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकको वर्तमान राजनीतिक अन्योल चिर्न निर्वाचन नै सबैभन्दा सहज र उपयुक्त बाटो भएको बताएका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले सबै दल निर्वाचनको पक्षमा उभिनुपर्नेमा जोड दिए।

उनले निर्वाचन बिथोल्ने काम नगर्न चेतावनी दिए। प्रचण्डले भने, "एकथरि मानिसहरू संसद् पुन:स्थापनाको कुरा लिएर सर्वोच्च अदालत गइरहनुभएको छ, जसले मान्छेहरूमा केही अन्योल देखिएको छ। तर, वास्तविकतामा निर्वाचन नै देशको सहज बाटो हो। निर्वाचन बिथोल्ने काम कसैले नगरोस्।''

राजनीतिमा पछिल्लो समय देखा परेको प्रवृत्तिप्रति टिप्पणी गर्दै उनले वैचारिक निष्ठा र त्यागको इतिहास नभएका पात्रहरू सामाजिक सञ्जालमार्फत हाबी हुन खोजेको बताए। विचार र सिद्धान्तभन्दा पनि प्रचारमुखी शैलीले प्रश्रय पाएकोमा चिन्ता व्यक्त गर्दै प्रचण्डले यसलाई 'रोग' को संज्ञा दिए।

"पछिल्लो समय विचारको इतिहास, त्याग र तपस्याको भूमिका र निष्ठालाई कम महत्त्व दिने, कुनै वैचारिक इतिहास नभएकाहरू हाबी हुँदै गइरहेका छन्,'' उनले भने, ''कुनै स्पष्ट विचार नभएकाका तत्त्वहरू सामाजिक सञ्जालमा स्टन्टबाजी गरेकै भरमा जनतालाई भ्रमित पार्ने रोगजस्तै लागेको छ।"

उनले वैचारिक स्पष्टता नभएकाहरूले सस्तो लोकप्रियताका लागि गर्ने यस्ता गतिविधिबाट सचेत रहन समेत आम नागरिकलाई आग्रह गरे। राजनीतिक परिवर्तनका लागि गरिएका ठूला संघर्ष र त्यागको अवमूल्यन गर्दै सामाजिक सञ्जालको सहारामा भ्रम फैलाउने कार्यले समाजलाई सही दिशा नदिने उनको तर्क थियो।

‘कुनै वैचारिक निष्ठा स्पष्ट छैन। त्यस्ता तत्त्वहरू स्टन्टबाजी गरेकै भरमा, न कुनै इतिहास छ। न कुनै सुविचारित विचार छ। न कुनै त्याग तपस्या र बलिदानको इतिहास छ। त्यस्ता मान्छेहरू सोशल मिडियामा स्टन्ट गरेकै भरमा जनतालाई भ्रममा पार्ने एक खालको रोगजस्तै लागेको छ,’ प्रचण्डले भने।

पुष ५, २०८२ शनिबार १६:००:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।