एमालेको नयाँ कमान्ड : कार्यविभाजनको अधिकार सचिवालयलाई, पराजित नेताहरू सल्लाहकार परिषद्मा समेटिने
काठमाडौं : एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजनको जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको छ। सचिवालयमा १९ पदाधिकारी र केन्द्रीय आयोगका अध्यक्ष रहनेछन्।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीको आजको बैठकले कार्यविभाजनका लागि सचिवालयलाई जिम्मेवारी दिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए। बैठकले केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युरो, स्थायी कमिटी गठन, कार्ययोजनालगायत छलफल गर्न यही पुस २६ देखि २८ गतेसम्म केन्द्रीय कमिटीको दोस्रो बैठक तोकेको छ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले पार्टीको गत भदौमा भएको दोस्रो विधान महाधिवेशनबाट पारित नीति र कार्यक्रमलाई कार्यान्वयन गर्दै टोलटोलसम्म पार्टी पुग्नुपर्नेमा जोड दिएको छ।
उपमहासचिव भट्टले ११औँ महाधिवेशनबाट संशोधित विधानलाई आवश्यक सम्पादनसहित एक हप्ताभित्र प्रकाशन गर्ने, केन्द्रीय पदाधिकारीमा नरहेका र सदस्यमा पराजितलगायतलाई केन्द्रीय सल्लाहकार परिषद्मा समेट्ने निर्णय पनि भएको जानकारी दिए।
बैठकले महाधिवेशन सम्पन्न गर्न योगदान गर्ने आयोजक समिति र सम्बन्धित सबैलाई आभार व्यक्त गरेको छ भने केन्द्रीय नेतृत्वमा उम्मेदवारी नदिई बिदाइ भएकाहरूलाई उनीहरूको योगदानको सम्मान गरेको छ।
भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौंको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्र नयाँ नेतृत्व निर्वाचित गर्दै पुस ३ गते औपचारिक समापन भएको थियो। यसैबीच, एमालेको केन्द्रीय अनुशासन आयोगको पहिले बैठक पनि आजै सम्पन्न भएको छ।
पुष ४, २०८२ शुक्रबार १९:१९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।