बैंक जमानत बुझाएपछि रवि लामिछाने थुनामुक्त
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार धरौटी बुझाएर थुनामुक्त भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार दिएको आदेश बमोजिम शुक्रबार साँझ रुपन्देही जिल्ला अदालतमा धरौटीको प्रक्रिया पूरा गरेर उनी थुनामुक्त भएका हुन्।
उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने गरी थुनामुक्त गर्ने आदेश दिएको थियो।
उक्त आदेशअनुसार सुप्रिम सहकारी ठगीमा मागदाबी गरिएको बिगोमध्ये लामिछानेको हिस्सामा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ र सुरुमा जिल्ला अदालतले माग गरेको १ करोड रुपैयाँ गरी कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने सर्त राखिएको थियो।
सोही बमोजिमको बैंक जमानत बुझाएपछि उनलाई तारेखमा रिहा गरिएको हो। काठमाडौंबाट शुक्रबार नै भैरहवा जाने तयारी भए पनि खराब मौसमका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन नसकेपछि लामिछाने चितवनको भरतपुर विमानस्थल ओर्लिएका थिए। त्यहाँबाट सडक मार्ग हुँदै उनी साँझ करिब साढे ५ बजेर मात्रै रुपन्देही जिल्ला अदालत पुगेका थिए।
अदालतले तोकेकै मितिमा उपस्थित हुनुपर्ने कानूनी प्रावधानका कारण कर्मचारीहरूले शुक्रबार ढिलासम्म बसेर प्रक्रिया पूरा गरेका थिए। जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार सनाखतका लागि कागजात पहिले नै तयारी अवस्थामा राखिएकाले प्रक्रिया छिट्टै सकिएको थियो।
यसअघि जिल्ला अदालतको आदेशलाई बदर गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। सोही मुद्दाका अर्का आरोपी छविलाल जोशीको हकमा भने उच्च अदालतले जिल्ला अदालतबाटै प्रक्रिया अघि बढाउन आदेश दिएको छ।
पुष ४, २०८२ शुक्रबार १८:२०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।