एमालेलाई झोले भन्नेलाई ओलीको जवाफ “मैले विरोध गर्नुपर्ने कामै गरेको छैन त के प्रश्न गर्ने?”
काठमाडौँ : एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी पूर्ण रूपमा समाप्त भएको घोषणा दाबी गरे। बिहीबार सम्पन्न ११औँ महाधिवेशनपछि बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनमा प्यानल र स्वतन्त्र उम्मेदवारी परे पनि मत परिणाम सार्वजनिक भएसँगै गुटको अन्त्य भएको दाबी गरे।
उनले भने, "हिजो चुनावमा लड्दा प्यानल भएर लडियो होला, तर त्यो हिजै सकियो। अब केन्द्रीय कमिटीमा कोही यो वा त्यो प्यानलको छैन, यो देश हाँक्ने एमालेको एक ढिक्का टिम हो।"
'प्रश्न उठाउनुपर्ने कामै गरेको छैन'
एमाले कार्यकर्ताहरूलाई 'आलोचनात्मक चेत हराएका झोले' भनेर भ्रम फैलाइएको भन्दै उनले बैठकमा आपत्ति समेत जनाए। पार्टी नेतृत्वका रूपमा उनले गरेका अधिकांश निर्णयको आलोचना हुने गरेका छन्। तर उनले आफूले पार्टीभित्र विरोध गर्नुपर्ने कुनै कामै नगर्ने दाबी गरे।
उनले भने, "केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने? हामी यस्ता हल्लाबाट प्रभावित हुनुहुँदैन।"
'निर्णायक राष्ट्रिय शक्ति बनाउने सङ्कल्प'
ओलीले बैठकमा एमालेलाई देशको निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु अहिलेको मुख्य कार्यनीतिक गन्तव्य रहेको बताएका थिए। महाधिवेशनले लिएको यो सङ्कल्प पूरा गर्न उनले केन्द्रीय सदस्यहरूलाई गाउँ, टोल र बस्तीसम्म पुग्न निर्देशन दिए।
"हामीले निर्णायक राष्ट्रिय शक्तिका रूपमा नेकपा एमालेलाई निकाल्नुपर्नेछ। यो महाधिवेशनमार्फत हामीले लिएको असाधारण नीति र सङ्कल्प हो," ओलीले थपे, "हामी जबज (जनताको बहुदलीय जनवाद) लाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्दै अगाडि बढ्छौँ।"
पुष ४, २०८२ शुक्रबार १६:५४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।