उपमहासचिव भट्टराई भने : महाधिवेशनको व्यवस्थापकीय पक्षबारे समीक्षा हुनेछ

उपमहासचिव भट्टराई भने : महाधिवेशनको व्यवस्थापकीय पक्षबारे समीक्षा हुनेछ

काठमाडौं : एमाले उपमहासचिव योगेश भट्टराईले भरखरै सम्पन्न पार्टीको ११ औँ महाधिवेशनको आन्तरिक पक्षलाई लिएर गम्भीर समीक्षा हुने संकेत गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महाधिवेशनको 'आन्तरिक तयारी, व्यवस्थापन र सन्देश'का बारेमा समीक्षा हुने बताएका हुन्। महाधिवेशन सम्पन्न हुनुलाई सकारात्मक उपलब्धि भनेका भट्टराईले यसको व्यवस्थापकीय पक्षमा भने छलफलको आवश्यकता औँल्याए। 

उनले भनेका छन्, 'नेकपा एमालेको ११ औ महाधिवेशन सम्पन्न भएको छ। यसको आन्तरिक तयारी, व्यवस्थापन र सन्देशका बारेमा समीक्षा हुने नै छ।' भदौ २३ र २४ गतेको घटनापछिको 'प्रतिकूल परिवेश' मा पनि महाधिवेशन सम्पन्न हुनुले राजनीतिक रूपमा सकारात्मक सन्देश प्रवाह गरेको उनको दाबी छ। 

मुलुकको वर्तमान राजनीतिक अवस्थालाई इंगित गर्दै भट्टराईले भनेका छन्, 'अब सिंगो एमाले पंतिले संयम र धैर्यताकासाथ अघि बढेर मुलुकको संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियालाई पुनर्स्थापित गर्न अगुवाइ गर्नु पर्दछ।'

महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई उनले बधाई तथा शुभकामना दिएका छन्।

पुष ४, २०८२ शुक्रबार १५:२०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।