बंगलादेशमा फेरि हिंसा भड्कियो, दुई समाचार च्यानल र अवामी लिगको कार्यालयमा आगजनी
एजेन्सी : बंगलादेशमा फेरि हिंसात्मक गतिविधिहरू तीव्र बनेका छन्।
प्रदर्शनकारीहरूले बिहीबार अबेर राति देशका दुई प्रमुख अखबार ‘द डेली स्टार’ र ‘प्रोथोम आलो’ को कार्यालयमा जबरजस्ती पसेर तोडफोड तथा आगजनी गरेका छन्। यसैबीच, धर्मको अपमान गरेको आरोपमा एक हिन्दू युवकको भीडले बीभत्स हत्या गरेको छ।
प्रदर्शनकारीहरूको निशानामा बंगलादेशका प्रतिष्ठित सञ्चारमाध्यमहरू परेका छन्। आक्रमणपछि ‘द डेली स्टार’ र ‘प्रोथोम आलो’ को प्रकाशन आज (शुक्रबार) का लागि बन्द गरिएको छ भने अनलाइन सेवाहरू पनि प्रभावित भएका छन्।
आगजनीका बेला कार्यालयभित्र थुप्रै कर्मचारीहरू फसेका थिए। ‘द डेली स्टार’ की रिपोर्टर जैमा इस्लामले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै आफ्नो अवस्थाबारे जानकारी दिएकी थिइन्। उनले लेखेकी छन्, ‘म सास फेर्न सकिरहेकी छैन। यहाँ धेरै धुवाँ छ। म भित्र छु, तिमीहरूले मलाई मार्दैछौँ।’
हिंसाकै बीच भालुका भन्ने स्थानमा एक अत्यन्तै क्रूर घटना घटेको छ । धर्मको अपमान गरेको आरोप लगाउँदै उत्तेजित भीडले दीपु चन्द्र दास नामका एक हिन्दू युवकको कुटीकुटी हत्या गरेको छ।
प्रहरी र बीबीसी बांग्लाले पुष्टि गरेअनुसार, बिहीबार राति करिब ९ बजे भीडले उनलाई नियन्त्रणमा लिएको थियो। कुटपिटपछि उनलाई नग्न बनाएर रूखमा झुण्ड्याइएको थियो र पछि शवलाई खम्बामा बाँधेर आगो लगाइएको थियो।
पछिल्लो हिंसा भड्किनुको मुख्य कारण सन् २०२४ को छात्र आन्दोलनका प्रमुख नेता उस्मान हादीको मृत्यु हो।
गत डिसेम्बर १२ मा चुनावी प्रचारका क्रममा टाउकोमा गोली लागेका हादीको उपचारका क्रममा सिङ्गापुरमा मृत्यु भएको थियो। उनको मृत्युको खबरसँगै उनका समर्थक र छात्र संगठनहरू आक्रोशित भई सडकमा उत्रिएका हुन्।
हादीको शव आज (शुक्रबार) साँझ बंगलादेश ल्याइँदैछ। उनको अन्तिम संस्कार शनिबार जोहरको नमाजपछि ढाकाको मानिक मियाँ एभिन्यूमा गरिने ‘इन्किलाब मञ्च’ ले जनाएको छ।
आक्रोशित प्रदर्शनकारीहरूले पूर्व राष्ट्रपति शेख मुजिबुर रहमानको निवासमा तोडफोड गरेका छन्।
साथै, पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगका कार्यालयहरूमा पनि आगजनी गरिएको छ। शेख हसिना सरकारका पूर्व शिक्षामन्त्री मोहिबुल हसन चौधरीको घरमा पनि तोडफोड गरी आगो लगाइएको छ।
यसैगरी, चट्टगाउँमा प्रदर्शनकारीहरूले भारतीय सहायक उच्चायुक्तको निवास अगाडि जम्मा भई ढुङ्गामुढा गरेका छन्। देशका विभिन्न जिल्लाहरूमा अहिले पनि तनावपूर्ण स्थिति रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पुष ४, २०८२ शुक्रबार ११:२५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।