थाई सेनाद्वारा कम्बोडियाको ‘क्यासिनो हब’ मा बम प्रहार, सीमा क्षेत्रमा तनाव बढ्यो

थाई सेनाद्वारा कम्बोडियाको ‘क्यासिनो हब’ मा बम प्रहार, सीमा क्षेत्रमा तनाव बढ्यो

एजेन्सी : थाइल्यान्डको सेनाले कम्बोडियाको पर्यटकीय तथा ‘क्यासिनो हब’ मानिने पेइपेटमा बिहीबार बम प्रहार गरेको छ।

कम्बोडियाको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै थाई सेनाले सीमा क्षेत्रमा बम खसालेको पुष्टि गरेको हो। पेइपेट दुई राष्ट्रबीचको प्रमुख सीमा नाका हो, जहाँ पछिल्लो समय दुई पक्षबीच तनाव र झडप भइरहेको छ।

मन्त्रालयका अनुसार थाई सेनाले बान्टे मिन्चे प्रान्तको पेइपेट नगरपालिका क्षेत्रमा दुई वटा बम प्रहार गरेको छ। यद्यपि, यस आक्रमणबारे थाइल्यान्डले हालसम्म कुनै औपचारिक टिप्पणी गरेको छैन।

छिमेकी मुलुकहरूबीच यस महिना सुरु भएको नयाँ चरणको लडाइँले ठूलो मानवीय क्षति निम्त्याएको छ।

अधिकारीहरूका अनुसार हालसम्मको झडपमा थाइल्यान्डतर्फ कम्तीमा २१ र कम्बोडियातर्फ १७ जनाको मृत्यु भइसकेको छ। द्वन्द्वका कारण करिब आठ लाख मानिस विस्थापित भएको जनाइएको छ।

कम्बोडियाको आन्तरिक मन्त्रालयले गत डिसेम्बर ७ बाट सुरु भएको लडाइँयता थाई आक्रमणका कारण कम्तीमा चारवटा क्यासिनोमा क्षति पुगेको जनाएको छ।

दुई देशबीचको यो द्वन्द्व औपनिवेशिक कालको सीमांकन र सीमा क्षेत्रमा अवस्थित प्राचीन मन्दिरका भग्नावशेषमाथिको स्वामित्वलाई लिएर उत्पन्न भएको हो।

दुवै पक्षले आ-आफ्नो आत्मरक्षाका लागि लडेको दाबी गरेका छन्। साथै, उनीहरूले एक-अर्कालाई युद्ध उक्साएको र सर्वसाधारणमाथि आक्रमण गरेको आरोप-प्रत्यारोप लगाउँदै आएका छन्।

पुष ३, २०८२ बिहीबार १२:५५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।