एमाले महाधिवेशनमा मतदान जारी : मोबाइल निषेध गरिँदा सूची बोक्न छुट, प्रतिनिधि फकाउँदै उम्मेदवार (१० तस्बिर)
काठमाडौं : एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान चलिरहेको छ।
बिहान साढे ९ बजे अध्यक्ष पदका दुई मुख्य प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेर प्रक्रियाको सुरुवात गरे।
मतदान चलिरहँदा उनीहरूले प्रतिनिधिहरूसँग भोट समेत मागेका छन्। उनीहरूसँगै उपाध्यक्ष र महासचिव लगायत अन्य पदका उम्मेदवारहरूले पनि प्रतिनिधिहरूसँग मत मागिरहेका छन्।

मतदानलाई छिटो र छरितो बनाउन विद्युतीय भोटिङ मेसिन प्रयोग गरिए पनि प्रतिनिधिहरूले मतदानमा लामो समय लागेको अनुभव सुनाएका छन्।
सुरुमा मतदान गरेका अध्यक्षका उम्मेदवारहरूलाई नै मतदान गर्न करिब ४० मिनेट लागेको थियो।

प्रतिनिधिहरूका अनुसार, मेसिनमा फोटोसहित उम्मेदवारको सूची राखिएको छ। तर, स्क्रिनमा टच गर्दा कहिलेकाहीँ काम नगर्ने र ‘डबल ट्याप’ गर्नुपर्ने समस्या देखिएको छ।
यस्तो हुँदा भोट ‘विथड्र’ हुने र पुनः मत हाल्नुपर्ने अवस्था आएको मतदाताहरूले बताएका छन्। प्रविधिमा पोख्त नभएकाहरूलाई ३० देखि ४० मिनेटसम्म र जान्नेहरूलाई करिब २५ मिनेट समय लागिरहेको छ।

मतदान कक्षभित्र मोबाइल लैजान पूर्ण रूपमा निषेध गरिएको छ। तर, प्रतिनिधिहरूलाई उम्मेदवारको प्यानल वा नामको ‘लिस्ट’ भने बोकेर जान दिइएको छ। एक पटकमा ५० जना प्रतिनिधिलाई भित्र पठाएर मतदान गराइएको छ।

कुल २ हजार २६२ प्रतिनिधि रहेको महाधिवेशनमा दिउँसो साढे १२ बजेसम्म करिब ४ सय मत खसेको छ। १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र विभिन्न आयोगका पदाधिकारी चयनका लागि भइरहेको यो मतदान आज राति १० बजेभित्र सक्ने लक्ष्य एमालेको छ।





पुष २, २०८२ बुधबार १३:३५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।