फण्डामा हिट प्रदीप : फिल्म चलाउन कहिले रोइलो, कहिले जेलको दैलो !

फण्डामा हिट प्रदीप : फिल्म चलाउन कहिले रोइलो, कहिले जेलको दैलो !

काठमाडौं : कुनै समय एउटै फिल्मको ५० लाख पारिश्रमिक बुझ्ने भनेर बजार तताउने ‘चकलेटी हिरो’ प्रदीप खड्का यतिबेला फुर्सदिला छन्। हातमा नयाँ फिल्मको सम्झौता छैन, पुराना फिल्मले हलमा पानी भन्न पाएनन्। यस्तोमा उनी आफ्नो डुब्न लागेको करियर जोगाउन अनेक ‘फण्डा’ गर्न माहिर देखिएका छन्।

पन्ध्र वर्षअघि फिल्म ‘इस्केप’ बनाएर निर्माताका रूपमा भित्रिएका प्रदीप सुरुमै नराम्ररी डुबेका थिए। तर, भाग्यले साथ दियो, पूजा शर्मासँगको ‘प्रेम गीत’ले उनलाई रातारात स्टार बनाइदियो। त्यसपछि ‘प्रेम गीत’ का सिक्वेल, ‘लिलीबिली’ र ‘लभ स्टेसन’ सम्म उनको गाडी ठिकठाकै गुड्यो।

तर, जब उनमा ‘एक्टर’ बन्ने भूत चढ्यो, तब ओरालो यात्रा सुरु भयो। ‘प्रकाश’ र ‘पुजार सार्की’ मा फरक देखिन खोजे, अवार्ड पनि उचाले तर बक्स अफिसमा धुम मच्चाउन सकेन।

अझ, एक्सन हिरो बन्ने रहरले खेलेको ‘पिताम्बर’ मा त २ घण्टा पर्दामा देखिँदा समेत अन्तिममा आएका सौगात मल्ल हावी भए। त्यसपछि आएको ‘एक्टर : टेक वान’ ले त उनलाई नराम्ररी पछार्यो, जसबाट उनी अझै तङ्ग्रिन सकेका छैनन्।

फिल्म नचलेपछि प्रदीप मिडिया फण्डा गर्न तम्सिन्छन्। हिजो ‘प्रकाश’ रिलिज हुँदा भुवन केसीविरुद्ध रिपोर्टर्स क्लबमा पत्रकार जम्मा गरेर रोइकराइ गर्ने प्रदीप, अहिले आफ्नो नयाँ फिल्म ‘एक्लो’ रिलिजको मुखमा नख्खु जेल पुगेका छन्।

सहकारी ठगी आरोपमा जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उनी अचानक जेल पुग्नुलाई धेरैले ‘प्रचारको नयाँ तरिका’ भनेका छन्। अरू बेला रविको खासै वास्ता नगर्ने प्रदीपले फिल्म रिलिजको मुखमै किन भेटे? जेलबाहिर युट्युबरलाई अन्तर्वार्ता दिनुले नै उनको नियत प्रस्ट पार्छ- जसरी हुन्छ मिडियामा हेडलाइन बन्नु छ।

अघिल्लो वर्ष नै सुटिङ सकिएको उनको फिल्म ‘एक्लो’ बल्लतल्ल यही पुस १७ गते रिलिज हुँदैछ। निर्माण टिम ट्रेलर रिलिज गरेर प्रचारमा होमिए पनि बजारमा खासै हल्लाखल्ला छैन।

पुसको कठ्याङ्ग्रिँदो जाडोमा दर्शक पपकर्न र महँगो कफी खान हलसम्म पुग्छन् कि पुग्दैनन्, त्यो हेर्न बाँकी छ। तर, सुस्त प्रचार र खस्कँदो क्रेज हेर्दा प्रदीपलाई यो फिल्मले पनि ‘एक्लो’ नै बनाउने त होइन भन्ने प्रश्न सिनेवृत्तमा छ।

के रवि लामिछाने भेटेको ‘फण्डा’ले फिल्मको व्यापार बढाउला? कि पुरानै फ्लपको शृङ्खला दोहोरिएला? त्यो त पुस १७ पछि नै थाहा हुनेछ।

पुष २, २०८२ बुधबार १३:११:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।