शून्यबाट शिखरसम्मको यात्रा : १२ वर्षमै देशकै नमुना बन्यो बुटवल कालिका क्याम्पस

शून्यबाट शिखरसम्मको यात्रा : १२ वर्षमै देशकै नमुना बन्यो बुटवल कालिका क्याम्पस

बुटवल : भौतिक पूर्वाधारको अभाव र शून्य संरचनाबाट १२ वर्षअघि सुरु भएको बुटवल कालिका क्याम्पस आज सही नेतृत्व, समुदायको साथ र उत्कृष्ट व्यवस्थापनका कारण देशकै नमुना सामुदायिक क्याम्पसको रूपमा स्थापित भएको छ।

सुरुवातमा जम्मा ३४ जना विद्यार्थी भर्ना गरेर पठनपाठन आरम्भ गरेको क्याम्पसमा हाल ४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यो वृद्धिले मात्र पनि क्याम्पसप्रतिको विद्यार्थी र अभिभावकको विश्वासलाई पुष्टि गर्छ।

वि.सं. २०७५ सालमा मानवज्ञान मावि र कालिका मावि समायोजन भई ‘कालिका मानवज्ञान मा.वि.’ बनेसँगै त्यसअघि २०७० सालमै घनश्याम पाठकको नेतृत्वमा क्याम्पसको बिजारोपण भएको थियो। सुरुवाती चरणमा बुटवल-११ कालिकानगरस्थित विद्यालयकै भवनमा क्याम्पस सञ्चालन गरिएको थियो।

तर, २०७५ मा बुटवल-१० रामनगरस्थित मानवज्ञान माविसँग विद्यालय मर्ज भएपछि क्याम्पस प्रशासनले विद्यालयको पश्चिमपट्टि रहेको जग्गा आफ्नो मातहतमा ल्याउने पहल गर्यो। २०७७ माघ १५ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल कालिका क्याम्पसको नाममा १० कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय गर्यो।

जग्गा प्राप्तिपछि भवन निर्माणको चरण झनै चुनौतीपूर्ण रहेको क्याम्पसका प्राचार्य घनश्याम पाठक सम्छन्छन्, ‘हामीसँग भवन बनाउने कुनै स्रोत थिएन। तर आँट मारेनौँ। मैले आफ्नो व्यक्तिगत जग्गा धितो राखेर २ करोड ५० लाख रुपैयाँ ऋण निकालेँ, र क्याम्पस सञ्चालक समितिका अध्यक्ष होम गलामीले पनि ४० लाख रुपैयाँ ऋण लिनुभयो। त्यसपछि मात्रै हामीले भवन निर्माणको काम सुरु गरेका हौँ।’

नेतृत्वकर्ताले व्यक्तिगत जोखिम मोलेर सुरू गरेको यो अभियानमा पछि राज्य र समुदायको पनि साथ मिल्यो। सरकारले भवन निर्माणका लागि ६ करोड रुपैयाँ विनियोजन गर्यो। साथै, लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका र विश्वविद्यालय अनुदान आयोगबाट समेत आर्थिक सहयोग जुटेपछि क्याम्पसले आजको भव्य स्वरूप ग्रहण गरेको हो।

हाल बुटवल-१२ रामनगरमा ३ हजार ३८६ वर्गमिटर क्षेत्रफलमा फैलिएको क्याम्पसको आफ्नै जग्गामा अत्याधुनिक संरचनाहरू खडा भएका छन्। क्याम्पसमा ‘क’, ‘ख’ र ‘ग’ गरी तीनवटा मुख्य भवनहरू छन्। जसमा ४१ वटा सुविधायुक्त कक्षा कोठा, १७ वटा प्रशासनिक कक्ष, ५९ वटा आन्तरिक तथा २ वटा बाह्य शौचालय रहेका छन्।

क्याम्पसको पुस्तकालयमा विभिन्न विधाका ७ हजार ५५१ थान पुस्तकहरू सङ्ग्रहित छन्, जसले विद्यार्थीलाई अनुसन्धान र अध्ययनमा टेवा पुर्याएको छ।

भौतिक विकाससँगै शैक्षिक गुणस्तरमा पनि क्याम्पसले ठुलो फड्को मारेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले छोटो समयमै शैक्षिक गुणस्तर उन्नयन तथा संस्थागत सुशासनका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विश्वविद्यालय अनुदान आयोगबाट ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। यो प्रमाणपत्रले क्याम्पसको शिक्षा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको छ भन्ने पुष्टि गर्छ।

नतिजाका हिसाबले पनि क्याम्पस अब्बल देखिएको छ। यसै वर्ष मात्र बीसीए पाँचौं सेमेस्टरको परीक्षामा छात्रा सन्ध्या पौडेलले ३.८८ जीपीए प्राप्त गरी त्रिभुवन विश्वविद्यालयकै ‘टपर’ बन्न सफल भइन्।

त्यस्तै, बीबीएस चौथो वर्षमा २० जना विद्यार्थी विशिष्ट श्रेणीसहित ६८.९ प्रतिशत र बीएड चौथो वर्षमा ७८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सामुदायिक क्याम्पसमा यस्तो नतिजा आउनु आफैँमा गर्वको विषय भएको प्राचार्य पाठक बताउँछन्।

समय र प्रविधिको मागलाई सम्बोधन गर्दै क्याम्पसले पाठ्यक्रममा विविधता ल्याएको छ। हाल स्नातक तहतर्फ मानविकी संकाय (बीए, बीएएसडब्लु), शिक्षाशास्त्र संकाय (नेपाली, अंग्रेजी, गणित) र व्यवस्थापन संकाय (बीबीएस) सञ्चालनमा छन्।

साथै, प्रविधिमैत्री शिक्षाअन्तर्गत बीसीए कार्यक्रम पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। स्नातकोत्तर तहमा एम.ए. (ग्रामीण विकास र अंग्रेजी) तथा एमबीएसका कार्यक्रमहरू पढाइ हुँदै आएका छन्।

क्याम्पसले भविष्यमा बजारको मागअनुसारका नयाँ विषयहरू थप गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ। व्यवस्थापन संकायको डिन कार्यालय र विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयसँग समन्वय गरी बीआईटीएम, बीबीए, बीएससी, सीएसआईटी र बीआईटी जस्ता प्राविधिक र सीपमूलक विषयहरू भित्र्याउने तयारी भइरहेको छ।

प्राचार्य पाठकले क्याम्पसलाई केवल प्रमाणपत्र वितरण गर्ने थलो मात्र नभई 'सीपमूलक तथा सूचना प्रविधिमैत्री अध्ययन केन्द्र' का रूपमा विकास गर्ने योजना सुनाए।

सफलताको यो उचाइमा पुग्दापुग्दै पनि क्याम्पससामु चुनौतीहरू भने विद्यमान छन्। प्राचार्य पाठकका अनुसार सामुदायिक क्याम्पसको संरचना भएकाले आर्थिक स्थायित्वको चुनौती सधैँ रहन्छ। यसका साथै त्रिभुवन विश्वविद्यालयका नीतिगत जटिलता, परीक्षा सञ्चालन र परिणाम प्रकाशनमा हुने ढिलासुस्ती तथा नयाँ कार्यक्रम थप गर्न आवश्यक जग्गाको अभावजस्ता समस्याहरू क्याम्पसले भोगिरहेको छ।

यद्यपि, यी चुनौतीका बाबजुद क्याम्पसले आफ्नो बेगलाई रोकेको छैन। लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको लाइब्रेरी भवन क्याम्पस मातहतमा ल्याउने र थप जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउने काम भइरहेको छ।

वि.सं. २०७० देखि २०७७ सालसम्म तत्कालीन कालिका माविको प्रधानाध्यापक रहेर सामुदायिक विद्यालयलाई 'रोलमोडल' बनाएका पाठकले अवकाशपछि पूर्णकालीन रूपमा क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।

उनको नेतृत्वमा क्याम्पसले १२ वर्षको अवधिमा शैक्षिक, भौतिक र प्रशासनिक रूपमा कायापलट गरेको छ। क्याम्पसले हाल ७० जना प्राध्यापक र १५ जना कर्मचारी गरी कुल ८५ जनालाई प्रत्यक्ष रोजगारी समेत प्रदान गरिरहेको छ।

‘क्याम्पस सञ्चालक समिति, स्थानीय जनता, प्राध्यापक, कर्मचारीका साथै विद्यार्थीहरूको अथक मिहिनेत र परिश्रमले आज कालिका क्याम्पस नमुना बन्न सफल भएको हो’, प्राचार्य पाठकले भने।

आफ्नो विधान, नियमावली र सङ्गठनात्मक संरचनामार्फत सञ्चालित यो क्याम्पस अहिले लुम्बिनी प्रदेशकै एक उत्कृष्ट र आधुनिक शिक्षण केन्द्रका रूपमा स्थापित भएको छ।

पुष २, २०८२ बुधबार १२:०६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।