१५ जनाको ज्यान लिने आक्रमणकारी भारतीय नागरिक, हैदरावादबाट गएका थिए अष्ट्रेलिया
एजेन्सी : अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा १५ जनाको ज्यान जाने गरी भएको भयानक गोलीकाण्डका मुख्य योजनाकार र आक्रमणकारी भारतीय नागरिक भएको पुष्टि भएको छ।
यहुदीहरूको पर्व ‘हनुक्का’ मनाइरहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली बर्साउने व्यक्ति भारतको तेलंगना राज्यस्थित हैदरावादका ५० वर्षीय साजिद अक्रम हुन्।
आतङ्ककारी साजिद अक्रमको जरो भारतको हैदरावादसँग जोडिएको छ। उनले हैदरावादबाटै बी कमसम्मको अध्ययन पूरा गरेका थिए। सन् १९९८ को नोभेम्बरमा उनी विद्यार्थी भिसामा रोजगारीको खोजी गर्दै अष्ट्रेलिया पुगेका थिए।
अष्ट्रेलियामा लामो समय बसेर त्यहीँकी युरोपेली मूलकी महिलासँग विवाह गरी स्थायी बसोबास गरे पनि साजिदसँग अझै पनि भारतीय पासपोर्ट नै रहेको खुलेको छ।
अष्ट्रेलियामा बस्दै आए पनि साजिदको भारतसँगको सम्पर्क टुटेको थिएन। उनी पछिल्लो २७ वर्षमा ६ पटक भारत पुगेका थिए। ‘इन्डियन एक्सप्रेस’को रिपोर्ट अनुसार साजिद अन्तिम पटक सन् २०२२ मा भारत गएका थिए।
सम्पत्ति र पारिवारिक कारण देखाउँदै उनी भारत गइरहन्थे। यद्यपि, इसाई महिलासँग विवाह गरेको भन्दै भारतमा रहेका उनका परिवारले भने उनीसँग सम्बन्ध तोडिसकेको दाबी गरेका छन्।
भारतीय नागरिक साजिदले अष्ट्रेलियाली नागरिक रहेका आफ्ना २४ वर्षीय छोरा नाविद अक्रमलाई पनि यस अपराधमा सामेल गराएका थिए। बाबु-छोराले मिलेर गरेको यो आक्रमण अष्ट्रेलियाको तीन दशककै सबैभन्दा ठुलो ‘मास सुटिङ’ हो।
प्रहरीको जवाफी कारबाहीमा भारतीय पासपोर्टधारी साजिदको मृत्यु भएको छ भने उनका छोरा घाइते अवस्थामा पक्राउ परेका छन्।
यी बाबु-छोराको गाडीबाट प्रहरीले इस्लामिक स्टेटका दुईवटा झण्डाहरू बरामद गरेको छ, जसले उनीहरू आतङ्कवादी संगठनसँग आबद्ध रहेको संकेत गर्छ।
आक्रमणको करिब एक महिनाअघि १ नोभेम्बरमा साजिदले भारतीय पासपोर्ट प्रयोग गरेर छोरासहित फिलिपिन्सको भ्रमण गरेका थिए। त्यहाँ उनीहरू इस्लामिक अतिवादीहरूको गढ मानिने ‘दावो’ शहरमा पुगेर आक्रमणको तयारी गरेको आशंका गरिएको छ।
यस घटनामा १५ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्। आक्रमणमा ३ जना भारतीय विद्यार्थीहरू पनि घाइते भएका छन्।
पुष २, २०८२ बुधबार ०८:४९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।