निष्क्रिय कर्जा बढ्दै: 'ग' वर्गका वित्तीय संस्था सबैभन्दा जोखिममा
काठमाडौं : नेपाल राष्ट्र बैंकले २०८२ कार्तिक मसान्तसम्मको बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख वित्तीय सूचकहरू सार्वजनिक गर्दा, प्रणालीको पुँजी पर्याप्तता सन्तोषजनक रहे पनि निष्क्रिय कर्जामा भने चाप बढेको देखिएको छ।
समग्र वित्तीय प्रणालीमा निष्क्रिय कर्जा कुल कर्जाको ५.२६% पुगेको छ। यसले कर्जा असुलीमा चुनौती थपिएको र ऋणको गुणस्तर खस्किएको देखिन्छ। निष्क्रिय कर्जाको भार सबैभन्दा बढी वर्ग 'ग' का वित्तीय संस्थाहरूमा देखिएको छ, जहाँ यसको अनुपात १२.५२% रहेको छ।
'ख' वर्ग का बैंकहरूमा पनि यसको अनुपात ६.०३% रहेको छ। तुलनात्मक रूपमा 'क' वर्गका वाणिज्य बैंकहरूमा भने यो अनुपात ५.०३% मा सीमित छ।
उच्च निष्क्रिय कर्जाले बैंकहरूलाई थप कर्जा नोक्सानी व्यवस्थाका लागि रकम छुट्टाउनुपर्ने दबाब सिर्जना गर्छ, जसले नाफामा असर पुर्याउँछ। समग्रमा कुल कर्जा नोक्सानी व्यवस्था कुल कर्जाको ५.५४% पुगेको तथ्याङ्कले दबाब बढेको देखाएको छ।
पुँजी पर्याप्तता र तरलताको अवस्था
निष्क्रिय कर्जाको दबाब भए पनि बैंक तथा वित्तीय संस्थाहरूको पुँजी पर्याप्तता भने बलियो देखिएको छ। कुल पुँजी (जोखिम भारित सम्पत्ति) अनुपात समग्रमा १२.४९% रहेको छ, जुन नियामकीय आवश्यकता पूरा गर्न पर्याप्त देखिन्छ।
तरलताको सूचकको रूपमा कुल तरल सम्पत्ति/कुल निक्षेप समग्रमा २३.४१% रहेको छ, जसले तत्कालको दायित्व पूरा गर्न वित्तीय संस्थाहरू सक्षम रहेको देखिन्छ।
सिडी अनुपात र ब्याज दर
समग्रमा सिडी अनुपात ७५.२८% रहेको छ, जसले बैंकहरूको कर्जा प्रवाह गर्ने क्षमतामा नियन्त्रण कायम भएको देखाउँछ। ब्याज दरमा भने कर्जा र निक्षेपबीचको अन्तर कायम रहेको छ।
निक्षेपमा भारित औसत ब्याज दर ३.७४% र कर्जामा भारित औसत ब्याज दर ७.३४% रहेको देखिन्छ।
पुष १, २०८२ मंगलबार १९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।