यु-१९ एसिया कप : ब्याटिङ चल्न नसक्दा नेपाल बंगलादेशसँग सात विकेटले पराजित
काठमाडौं : एसीसी यु-१९ एसिया कप अन्तर्गत समूह ‘बी’को खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग ७ विकेटको फराकिलो अन्तरले पराजित भएको छ।
दुबईस्थित ‘द सेभेन्स स्टेडियम’ मा नेपालले दिएको १३१ रनको सामान्य लक्ष्य बंगलादेशले २४.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३१.१ ओभरमा १३० रनमै अलआउट भयो।
नेपालका लागि तल्लो क्रमका ब्याटर अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए। उनले ४३ बलमा २ छक्का प्रहार गरे।
यस्तै, विकेटकिपर आशिष लुहारले २३, साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन बनाए। यी बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालको सुरुवात निकै खराब रह्यो। ६१ रन जोड्दा नेपालले आफ्ना ५ विकेट गुमाइसकेको थियो। बंगलादेशका बलर मो. सबुजले सर्वाधिक ३ विकेट लिए।
यस्तै, साद इस्लाम, सहरीयार अहमद र कप्तान अजिजुल हाकिमले समान २-२ विकेट लिँदै नेपाललाई सस्तैमा समेटे।
१३१ रनको लक्ष्य पछ्याएको बंगलादेशको सुरुवात पनि केही धरमराएको थियो। २९ रन जोड्दा २ विकेट गुमाइसकेको अवस्थामा जवाज अबरारले इनिङ सम्हाले।
‘प्लेयर अफ द म्याच’ घोषित अबरारले ६८ बलमा ७ चौका र ३ छक्कासहित अविजित ७० रनको शानदार पारी खेले।
उनलाई कलाम सिद्दिकीले ३४ रन बनाएर साथ दिए। उनीहरूबीच तेस्रो विकेटका लागि ९२ रनको साझेदारी भयो। रिजान होसेन १२ रनमा अविजित रहे।
बलिङतर्फ नेपालका अभिषेक तिवारी र युवराज खत्रीले १-१ विकेट लिए। यो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनेको छ।
पहिलो खेलमा श्रीलंकासँग आठ विकेटले पराजित भएको नेपालले अब समूह चरणको अन्तिम खेलमा बुधबार अफगानिस्तानको सामना गर्नेछ।
मंसिर २९, २०८२ सोमबार १८:५५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।