यु-१९ एसिया कप : नेपाल र बंगलादेश आज भिड्दै, अघिल्लो चरण प्रवेशका लागि नेपाललाई जित्नैपर्ने दबाब
दुबई : एसीसी यु-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा आज नेपालले बलियो प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दैछ।
यो खेल दुबईस्थित ‘द सेभेन्स स्टेडियम’ मा नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ।
प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो। समूह चरणको पहिलो खेलमा पराजित भएको नेपाल अंकविहीन छ भने रनरेट पनि कमजोर (-४.०२३) रहेको छ।
अर्कोतर्फ, बंगलादेशले आफ्नो पहिलो खेल जितेर २ अङ्कका साथ बलियो स्थितिमा छ। अर्को चरणमा प्रवेशको सम्भावना जीवित राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।
दुई टोलीबीचको पछिल्लो नतिजा हेर्दा बंगलादेश हाबी देखिन्छ। पछिल्ला तीन भेटमध्ये दुई खेलमा बंगलादेश विजयी भएको छ भने नेपालले एक खेल मात्र जितेको छ।
नेपालले अन्तिम पटक सन् २००२ मा बंगलादेशलाई २३ रनले हराएको थियो। त्यसयता, २०२४ को भेटमा बंगलादेश ५ विकेटले र २०१६ मा ६ विकेटले विजयी भएको थियो।
बंगलादेशका ब्याटर रिजान होसेन उच्च फर्ममा छन्। उनले १० खेलमा ७१.५ को औसतले ४२९ रन बनाएका छन्। बलिङतर्फ इकबाल होसेन इमोनले ४ खेलमा १४ विकेट लिँदै खतराको संकेत दिएका छन्।
नेपालका तर्फबाट सिब्रिन श्रेष्ठ र साहिल पटेल जस्ता खेलाडीहरूको प्रदर्शन आजको खेलमा निर्णायक हुनसक्छ। बलिङमा दयानन्द मण्डल र विपिन शर्माबाट नेपालले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ।
मंसिर २९, २०८२ सोमबार १०:१४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।