अष्ट्रेलियाको बोंडी बिचमा गोलीबारीमा मृत्यु हुनेको संख्या १५ पुग्यो
एजेन्सी : अष्ट्रेलियाको न्यु साउथ वेल्सस्थित बोंडी बिचमा भएको गोलीबारीको घटनामा मृत्यु हुनेको संख्या १५ पुगेकोझ छ। जसमा एक १० वर्षीया बालिकासमेत छिन्।
न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले यस दुःखद घटनाको पुष्टि गरेका छन्।
घटनामा संलग्न एक आक्रमणकारीको पनि मृत्यु भएको छ। प्रहरी कमिश्नर माल लैन्यनका अनुसार आक्रमणकारीहरू बाबु र छोरा थिए।
५० वर्षीय बाबु र २४ वर्षीय छोराले आक्रमण गरेका थिए। प्रहरीको गोली लागेर ५० वर्षीय बाबुको मृत्यु भएको छ भने छोराको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनापछि ड्युटीमा रहेका प्रहरीसहित ४२ जनालाई उपचारका लागि अस्पताल लगिएको छ।
प्रहरीका अनुसार मारिएका ५० वर्षीय व्यक्तिसँग हतियार राख्ने लाइसेन्स थियो। उनको नाममा ६ वटा हतियार दर्ता रहेको र घटनास्थलबाट ६ वटै हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।
साथै, घटनास्थलमा फेला परेका दुईवटा विस्फोटक पदार्थलाई प्रहरीले निष्क्रिय पारेको छ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भविष्यमा यस्ता आक्रमणहरू रोक्न आवश्यक सबै स्रोत र साधन परिचालन गरिने बताएका छन्।
साथै, उनले अष्ट्रेलियाली समाजमा रहेको ‘यहुदी विरोधी भावना’लाई पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
मंसिर २९, २०८२ सोमबार ०७:३९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।