विधान संशोधन गरिएपछि पाण्डेको प्रतिवाद : ‘मनपरीतन्त्र विरुद्ध लडाइँ जारी छ’

विधान संशोधन गरिएपछि पाण्डेको प्रतिवाद : ‘मनपरीतन्त्र विरुद्ध लडाइँ जारी छ’

काठमाडौं : एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी साङ्गठनिक संरचनामा हेरफेर गरिएपछि विधान अधिवेशनको औचित्यमाथि प्रश्न उठाएका छन्। पार्टीलाई विधि, प्रक्रिया र विधानअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले नेतृत्वको स्वेच्छाचारी प्रवृत्तिको विरोध गरे।

तीन महिनाअघि सम्पन्न विधान महाधिवेशनले तय गरेको साङ्गठनिक खाकालाई लत्त्याउँदै फेरि पद सिर्जना गर्न खोज्नुलाई पाण्डेले ‘मनपरी’को संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले चाहेको बेला संशोधन गर्नको लागि पार्टी विधान कुनै ‘अस्थायी’ दस्ताबेज नभएको प्रस्ट्याए।

विधानले निर्दिष्ट गरेको बाटोबाट अहिले आएर ‘दायाँ-बायाँ’ गरिए विधान महाधिवेशनको औचित्य नै समाप्त हुने पाण्डेको तर्क छ। पार्टी सञ्चालन व्यक्तिको तजबिजमा नभई विधि र प्रक्रियामा आधारित हुनुपर्नेमा जोड दिँदै उनले यस प्रकारको ‘मनपरीतन्त्र’ विरुद्ध लडाइ जारी रहेको बताए।

उनले भनेका छन्, 'के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔं भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔं भन्ने-यो सरासर मनपरी होइन भने के हो? अहिले आएर दायाँ-बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ। यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ। पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ।'

एमाले केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनबाट पारित विधानको प्रावधान संशोधन गरेर पदाधिकारी १९ (१ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव), केन्द्रीय कमिटी ३०१ सदस्यीय र त्यसको एक तिहाइ पोलिटब्युरो ९९ सदस्यीय तथा पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटीमा सदस्य रहने निर्णय गरेको छ। जसमा संस्थापन इतर समूहका नेताहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

मंसिर २८, २०८२ आइतबार १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।