गर्भपतनपछि संसारलाई सत्य बताउने अठोट गरेकी नोबेल विजेता
"त्यो गर्भपतनको हरेक क्षण मेरा लागि हैरानीपूर्ण थियो।"
फ्रान्सकी नोबेल साहित्य पुरस्कार विजेता एनी एर्नोले सन् १९६३ मा २३ वर्षको उमेरमा लुकिछिपी गराएको गर्भपतनबारे यो खुलासा गरेकी हुन्। विश्वविद्यालय पढ्ने र लेखिका बन्ने सपना बोकेकी एर्नोका लागि त्यो समय "बर्बादीको उल्टो गिन्ती" सुरु भएजस्तै थियो।
त्यसबेला फ्रान्समा गर्भपतन गैरकानुनी थियो। गर्भवती हुनुलाई उनी आफ्नो करियरमा 'सामाजिक असफलताको दाग' मान्थिन्। कानुनको डरले डाक्टर पाउन असम्भव भएपछि उनले "एन्जेल मेकर्स" भनिने महिलाहरूको सहारा लिइन्। आफ्नो पुस्तक 'ह्यापेनिङ' मा एर्नोले त्यो दर्दनाक अनुभवलाई लुकाएकी छैनन्।
उनले घरबाट ल्याएको बुन्ने सुइरो (काँटी) प्रयोग गरिएको थियो। प्रक्रियापछि अत्यधिक रक्तस्राव भएर उनलाई होस्टेलबाट अस्पताल पुर्याउनुपर्यो। उनी भन्छिन्, "यो साँच्चै जीवन र मृत्युको लडाइँ थियो। महिलामाथि हुने यो सबैभन्दा भयानक हिंसा हो।"
सन् १९७४ मा आफ्नो आत्मकथामा पहिलो पटक यसबारे लेख्दा उनको उद्देश्य केवल घटना सुनाउनु मात्र थिएन, बरु यसमा लुकेको 'हिम्मत' देखाउनु थियो। सन् २००० मा प्रकाशित उनको पुस्तक 'ह्यापेनिङ' अहिले फ्रान्सको विद्यालय पाठ्यक्रममा छ।
फ्रान्सले हालै गर्भपतनको अधिकारलाई संविधानमै समेट्ने पहिलो देशको कीर्तिमान बनाएको छ। तर एर्नो ती लाखौं "अज्ञात महिलाहरू" (सन् १९७५ अघि बर्सेनि ३ देखि १० लाख) को सम्झनामा 'अज्ञात सैनिक' जस्तै स्मारक बनाउन चाहन्छिन्, जसले कानुनी अधिकार नपाउँदा ज्यान गुमाए।
एर्नोको जीवनका यी घटनाहरू उनका निजी डायरीमा सुरक्षित थिए, तर सन् १९७० मा उनकी आमाले ती सबै जलाइदिइन्। आमाले छोरीको विगतप्रति घृणा जागेर त्यसो गरेको एर्नोको बुझाइ छ।
यद्यपि, "सच्चाइ आगोमा पनि जीवित रह्यो" भन्दै एर्नोले आफ्नो विलक्षण स्मरणशक्तिका आधारमा ती घटनाहरूलाई शब्दमा उतारिन्। उनले आफ्नो पहिलो यौन अनुभवलाई पनि निडर भएर लेखेकी छन्, जसलाई आजको समयमा 'बलात्कार' मानिन सक्छ। उनी भन्छिन्, "मेरा लागि महत्त्वपूर्ण यो हो कि म ठ्याक्कै त्यही बताउन सकूँ जो भएको थियो, बिना कुनै राय।" -बीबीसी हिन्दीबाट
मंसिर २८, २०८२ आइतबार १०:३४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।