कमजोरी सच्याउने सङ्कल्प गर्दै प्रचण्डले भने : एकता अभियानलाई नयाँ उचाइमा पुर्याउँछौं
सुर्खेत : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताएका छन्।
शनिबार यहाँको वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उनले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित एक नम्बर पार्टी बनाउन लाग्नुपर्ने र शनिबार कर्णालीले देखाएको मायाले आफू उत्साहित भएको बताए।
प्रचण्डले १४ भन्दा बढी पार्टी मिलेर विगतका कमजोरी सच्याउँदै अगाडि बढ्ने सङ्कल्प गरेको उल्लेख गर्दै देशका विभिन्न स्थानमा भएका एकता सभामा देखिएको सहभागिताले अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास जागेको धारणा राखे। उनले विसं २०४१/४२ देखि नै पार्टी माधव नेपाल र आफूबीचमा एकताका लागि छलफल सुरु भएको स्मरण गर्दै सशस्त्र द्वन्द्वका सामयमा पनि निरन्तर छलफल भएको धारणा राखे।
प्रचण्डले भने, 'हामी सुरुदेखि नै एकताका पक्षमा थियौं, सशस्त्र युद्ध सुरु भएको दुई वर्षदेखि नेपाल र आफूहरूले देशको विकास र नेपाललाई कसरी उचाइमा पुर्याउन सकिन्छ भनेर छलफलमा जुटका थियौं। एमाले र माओवादी सहमति भएपछि मात्र देशमा १२ बुँदे सहमति भएको थियो। ४० वर्षदेखि एकताका काम भइरहेका थिए।'
उनले कर्णाली नेपाली सभ्यताको जननी, जडीबुटी, जलस्रोतको भण्डार रहेको भन्दै यहाँको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। अब विदेशिएका युवालाई स्वदेश फर्कने वातावरण तयार गर्न आफूहरू क्रियाशील भएको प्रचण्डको भनाइ थियो।
मंसिर २७, २०८२ शनिबार २०:३५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।