एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’

एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’

काठमाडौं : कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल शनिबार लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ। यसैबीच खेलाडीको सम्मानका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ।

ठमेलस्थित एलओडी क्लबमा बिहीबार राति ९ बजेदेखि एनपिएलका विजेता टोलीका खेलाडीसहित अन्य आठ वटै टोलीका खेलाडीको सहभागितामा ‘एनपिएल नाइट’ हुन लागेको हो।

कार्यक्रममा एनपिएल दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्ससहित विराटनगर किंग्स, काठमाडौं गोर्खाज, पोखरा एभेञ्जर्स, कर्णाली याक्स, चितवन राइनोज र जनकपुर बोल्टुस्का खेलाडीको सहभागिता रहने क्लबका प्रमुख रविन श्रेष्ठले जानकारी दिए।

'नेपालमा क्रिकेटको राम्रो इतिहास रचिँदै छ। एनपिएल खेल्न विभिन्न मुलुकका खेलाडी यहाँ आएका छन्। यसले नेपालको पहिचान थप बढाउनुका साथै एनपिएलका माध्यमबाट प्रचारप्रसार हुँदा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ,' उनले भने।

एनपिएलको दोस्रो सिजनमा एलओडी क्लब मनोरञ्जनात्मक साझेदार बनेको थियो। यसअघि क्लबका प्रमुख श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले एनपिएल दोस्रो सिजनका लागि एलओडी मनोरञ्जनात्मक साझेदार बन्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। आगामी वर्षमा पनि क्लब मनोरञ्जनात्मक साझेदार बन्ने क्यानले जनाएको छ।

मंसिर २७, २०८२ शनिबार १९:३३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।