सहमति विपरीत प्रतिनिधि मनोनयनमा ओलीको एकलौटी, पोखरेल समूह असन्तुष्ट
काठमाडौं : एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधिमा मनोनीत भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले कूल प्रतिनिधिको पाँच प्रतिशतका दरले १०८ जनालाई मनोनयन गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पदका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बसेर प्रतिनिधि टुंगो लगाउने सहमति भएको थियो। तर, उक्त सहमति विपरीत अध्यक्ष ओलीले एकलौटी ढंगले सूची प्रकाशित गरिएपछि पोखरेल समूह असन्तुष्ट बनेको छ।
मनोनयन भएका प्रतिनिधिमा राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सेना, काठमाडौं महानगरका उपप्रमुख सुनिता डङ्गोल, काठमाडौं एमाले अध्यक्ष दीपक निरौला, ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य, भक्तपुर अध्यक्ष बच्चन देउजालगायत रहेका छन्।
सूची सार्वजनिक हुनासाथ पार्टीभित्र विवाद उत्पन्न भएको हो। अध्यक्ष पदका दाबेदार पोखरेलले सहमति विपरीत एकलौटी रूपमा सूची प्रकाशित गरिएको भनेका छन्। यस विषयमा ओलीको ध्यानाकर्षण गराउने र नभए महाधिवेशनको हलमै विरोध जनाउने पोखरेल समूहको तयारी छ। यसअघि पनि प्रतिनिधि छनोट प्रक्रियामा विभिन्न जिल्लामा विवाद देखिएको थियो।
मंसिर २७, २०८२ शनिबार १६:२५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।