एमाले महाधिवेशन : कडा सुरक्षाजाँचसहित सल्लाघारीमा प्रवेश सुरु, बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ
भक्तपुर : एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट आएका नेता तथा कार्यकर्ताहरूको प्रवेश सुरू भएको छ।
भक्तपुरको सल्लाघारीस्थित तिनकुनेमा निर्माण गरिएको महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल बढेको हो। मुख्य प्रवेशद्वारमा कडा सुरक्षाजाँचपछि मात्रै सहभागीहरूलाई भित्र पठाउन थालिएको छ।

महाधिवेशन स्थल वरपर नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ। सम्भावित भिडभाड र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दङ्गा नियन्त्रण पोशाक सहितका सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन्।

सहभागीहरू अनुशासित रूपमा लामबद्ध भएर मूल गेटबाट प्रवेश गरिरहेका छन्। स्वागत द्वारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसहित ‘हार्दिक स्वागत’ लेखिएका ब्यानरहरू सजाइएको छ।

सडकमा सवारी चाप नपरोस् भनेर ट्राफिक प्रहरीले सवारी आवागमनलाई व्यवस्थित गरिरहेको छ। ट्राफिक प्रहरीको टोलीले सडकमा ओहोरदोहोर गर्ने सवारी र महाधिवेशनमा आएका सवारीलाई व्यवस्थापन गरिरहेको देख्न सकिन्छ।

केही बेरमा सुरू हुने उद्घाटन सत्रका लागि मञ्च पूर्ण रूपमा तयार भइसकेको छ। अध्यक्ष ओलीले रिमोट कन्ट्रोलमार्फत विद्युतीय पाला बालेर र झण्डा फहराएर महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटन समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उद्घाटन सत्रमा करिब ३ लाख जनसहभागिता रहने एमालेको दाबी छ। भिड व्यवस्थापनका लागि ५०० भन्दा बढी स्वयंसेवकहरू पनि परिचालन गरिएका छन्।

मंसिर २७, २०८२ शनिबार ११:२६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।