महाधिवेशनको पूर्वसन्ध्यामा एमालेभित्र तीव्र दौडधूप : कोही पद जोगाउने धुनमा, कोही जमाउने सुरमा

महाधिवेशनको पूर्वसन्ध्यामा एमालेभित्र तीव्र दौडधूप : कोही पद जोगाउने धुनमा, कोही जमाउने सुरमा

काठमाडौं : भावी नेतृत्वका लागि केपी शर्मा ओलीको निरन्तरता कि ईश्वर पोखरेलको नेतृत्वमा पुस्तान्तरण ? यही पेचिलो आन्तरिक बहस र तीव्र 'लबिङ'का बीच मङ्सिर २७ गतेदेखि (भोलि) एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु हुँदैछ। 

नेतृत्व चयनको रस्साकस्सी मात्र नभई 'जेनजी' आन्दोलनपछिको बदलिँदो मनोविज्ञान र मुलुकको विषम राजनीतिक परिस्थितिलाई सम्बोधन गर्ने चुनौती बोकेको यस महाधिवेशनलाई पार्टी रूपान्तरणको ऐतिहासिक अवसरका रुपमा पनि हेरिएको छ। विषम राजनीतिक परिवेशमा हुन लागेको महाधिवेशनमा सहभागी हुन नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू काठमाडौं उपत्यकामा आइपुगेका छन्।

तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी हुन आउने पार्टी प्रतिनिधिसहित नेता तथा कार्यकर्ताबीचको भेटघाट, छलफल, चुनावी बहस र प्रचारप्रसारले तीव्रता पाउँदा काठमाडौं उपत्यकामा रौनक थपिएको छ। विशेषगरी च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय, भक्तपुरको सल्लाघारीस्थित महाधिवेशन उद्घाटन स्थलसहित प्रभावशाली एवं शीर्ष नेताहरूको निवासमा चहलपहल बढेको देखिन्छ।

यसैगरी, पार्टी पदाधिकारी एवं केन्द्रीय सदस्य पदमा आकाङ्क्षी नेताहरूको ‘लबिङ’ र उनीहरूका पक्षमा राजनीतिक माहोल सिर्जना गर्न उत्सुक शुभेच्छुक तथा कार्यकर्ताको दौडधुपले पनि राजनीतिक चहलपहल बढेको देखिन्छ।

मुलुकमा विकसित विषम राजनीतिक परिवेशकाबीच आगामी पाँच वर्षका नेतृत्व चयन गर्ने सन्दर्भमा हुन गइरहेको राष्ट्रिय महाधिवेशनका अवसरमा चहलपहल हुनुलाई स्वाभाविक रूपमा लिइनुपर्ने राजनीतिक विश्लेषकको भनाइ छ।

राष्ट्रिय महाधिवेशनलाई एउटा उत्सव मात्र नभई पार्टी र देशको भविष्यका लागि नयाँ चुनौतीका विषयमा विमर्श गर्ने अवसरका रूपमा पनि प्रतिनिधिले लिएका छन्। प्रतिनिधिहरू आफ्नो परिचयपत्र लिन र नेतृत्व चयनमा निर्वाचन भएमा कसरी प्रस्तुत हुने भन्ने विषयमा चासोपूर्वक लागिरहेका देखिन्छन्।

राष्ट्रिय  राजनीतिमा सङ्कटका समयमा यसलाई सामना गर्न सक्ने नेतृत्व ओली नै हो भन्ने संस्थापन पक्षको धारणा र नेतृत्वमा पुस्तान्तरण, हस्तान्तरणसहित रूपान्तरण हुनुपर्ने आवाज वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षबाट आइरहेको छ।

एमालेको सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेछन्। सो सङ्ख्याको पाँच प्रतिशतसम्म प्रतिनिधि मनोनीत गर्न सकिने व्यवस्था रहेको छ। पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३०९ सदस्यले पनि महाधिवेशनमा सहभागी हुन पाउनेछन्।

मनोनीत हुने प्रतिनिधि, विधानमा कुनै संशोधन गर्ने नगर्ने या महाधिवेशनमा कुनै प्रस्तावमा छलफल गर्ने नगर्ने भन्नेबारेमा आज बस्ने पार्टीको सचिवालय बैठकले निर्णय गर्ने नेता अधिकारीले जानकारी दिए।

यसअघि, वरिष्ठ उपाध्यक्ष पोखरेलले जेनजी आन्दोलनपछिको अवस्थालाई समीक्षा गर्नुपर्ने गरी आफ्नो अवधारणा पत्र पार्टीका महासचिव शङ्कर पोखरेललाई हस्तान्तरण गरिसकेका छन्। पार्टीका अन्य नेताहरूले गत भदौ २०-२२ मा काठमाडौंमा सम्पन्न दोस्रो विधान महाधिवेशनमा राजनीतिक दस्ताबेजमा छलफल भइसकेका सन्दर्भमा नीतिभन्दा नेतृत्वका विषयमा राष्ट्रिय महाधिवेशन केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरिरहेका छन्।

एमालेका उपमहासचिव एवं जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले आफूहरू महाधिवेशनको अन्तिम तयारीमा पुगेको जानकारी दिँदै भक्तपुरको तीनकुने स्थित सल्लाघारीको खुला मैदानमा मञ्च निर्माण तथा व्यवस्थापनलगायत काम अन्तिम चरणमा पुगेको बताए।

उनले महाधिवेशनको उद्घाटन सत्रमा विशेषगरी बागमती, मधेस र गण्डकी प्रदेशसहित देशभरबाट उल्लेखनीय सङ्ख्यामा जनसहभागिता हुने गरी व्यापक प्रचारप्रसारसहित तयारी भइरहेको जानकारी दिए।

नेता ज्ञवालीका अनुसार एमालेले महाधिवेशनमा शुभकामना दिन विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेसहित १६ राष्ट्रिय दलका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरिएको छ। जेनजी आन्दोलनपछिको विशेष अवस्था भएकाले विदेशका नेता तथा पाहुनालाई यस महाधिवेशनमा निम्तो नदिइएको एमालेका बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराईले जानकारी दिए।

उनका अनुसार भारत, चीन, क्युबालगायत मुलुकका पार्टीबाट शुभकामना सन्देश प्राप्त भएको छ। यस्तै नेपालस्थित कूटनीतिक मिसनलाई महाधिवेशनमा बोलाइएको छ।

महाधिवेशन सफलतापूर्वक भव्य रूपमा सम्पन्न गर्न गठित स्वयंसेवक परिचालन, आवास, खाद्यान्न, यातायात, प्रचारप्रसार, सांस्कृतिक, आर्थिक, प्रतिनिधि व्यवस्थापनलगायत समितिहरू आआफ्ना जिम्मेवारी पूरा गर्न व्यस्त देखिन्छन्।

एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमार्फत राष्ट्रिय एकता र निकासका निम्ति सम्पूर्ण नागरिकलाई अपिल गरिने बताए। उनले महाधिवेशनको प्रतीक चिन्ह (लोगो) मा काठमाडौँ उपत्यकाका ऐतिहासिक एवं सांस्कृतिक सम्पदा धरहरादेखि, रञ्जना लिपी, न्यातपोल दरबार र शान्तिको प्रतीक पनि समावेश गरेर नेवा: संस्कृति र ऐतिहासिकतालाई महत्त्व दिन खोजिएको बताए।

‘राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल र सुखी, नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा रहेको महाधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्नेछन्। महाधिवेशन उद्घाटनका अवसरमा सांस्कृतिक कार्यक्रमसहित स्थानीय झाँकी तथा भेषभूषामा सज्जित कलाकारले प्रदर्शन गर्ने कार्यक्रम छ।

मंसिर २६, २०८२ शुक्रबार १८:२८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।