एमाले ११औँ महाधिवेशनको रौनक : चाँगुनारायणको झल्को दिने मञ्चदेखि सजावटसम्म (फोटो फिचर)
काठमाडौं : एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यामा भक्तपुरको सल्लाघारीस्थित मैदानमा मञ्च निर्माण लगायतका सम्पूर्ण व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको हो।
मंसिर २७ गतेदेखि २९ गतेसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ चयन गर्नेछ। महाधिवेशनमा २ हजार २६२ प्रतिनिधिको सहभागिता रहने छ। जसमा देशभरबाट चुनिएर आएका २ हजार १५४ जना र केन्द्रबाट मनोनीत १०८ जना प्रतिनिधि रहेका छन्।
महाधिवेशन उद्घाटन सत्रका लागि सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलमा फैलिएको मैदानमा भक्तपुरको प्रसिद्ध एवं ऐतिहासिक चाँगुनारायण मन्दिरको ठूलो प्रतिमासहितको कलात्मक मञ्च निर्माण गरिएको छ।
महाधिवेशनको तयारीबारे जानकारी दिन सल्लाघारीमा आयोजित पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य तथा जनपरिचालन संयोजक डा. राजन भट्टराईले उद्घाटन समारोहमा करिब तीन लाखको उपस्थिति रहने बताए। त्यस्तै विभिन्न भेसभुसासहित २०० जति झाँकी प्रदर्शनी हुने उनले जानकारी दिए।
प्रविधिमैत्री उद्घाटन हुने स्थलमा करिब १५ हजार कुर्सी राखिने छ। पोलिटब्युरो सदस्य तथा मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठका अनुसार हालसम्म भएका १० वटा महाधिवेशनको बिम्ब स्वरूप वरिपरि १० झण्डा र बीचमा ११ औँ महाधिवेशनको झण्डा राखिएको छ। ११औँ झण्डाको झण्डोत्तोलन गरी इलेक्ट्रिक दियो बालेर महाधिवेशनको उद्घाटन गर्ने तयारी रहेको उनले जानकारी दिए।
महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यामा देखिएको सल्लाघारी मैदानको रौनक र तयारीका दृश्यहरू यी तस्बिरमा हेर्नुहोस् :








मंसिर २६, २०८२ शुक्रबार १७:०१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।