एमाले सचिवालय बैठक जारी : पदाधिकारीको संख्या थपिएला ?
काठमाडौं : एमालेको सचिवालय बैठक अहिले केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको सचिवालय बैठक भोलिदेखि सुरु हुने ११ औं महाधिवेशनको विषयमा केन्द्रित छ।
एमाले संस्थापन पक्षले पदाधिकारी संख्या र केन्द्रीय कमिटीको आकार बढाउने पक्षमा छ। गत भदौ २०-२२ मा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ मा कायम गर्ने निर्णय गरेको थियो।
विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष पद हटाउने र ३ जना मात्र उपाध्यक्ष रहने प्रावधान गरेको थियो। जेनजी आन्दोलनपछि बदलिएको परिवेशमा अध्यक्ष ओलीलाई नेतृत्वमा कायम रहन चुनौती थपिएको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा प्रतिस्पर्धा गर्न तयारी थालेपछि असुरक्षित महसुस गरेका ओलीलाई आफ्नो समूहमा नेताहरूको व्यवस्थापन गर्न कठिन देखिएको छ।
आफ्नो पक्षका नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण बनेपछि आफ्नै चाहनामा संशोधन गरेको विधान कार्यान्वयनमा जानुअघि नै ओली पुनः संशोधनको पक्षमा उभिएका छन्। शुक्रबारको सचिवालय बैठकमा सोही विषयबारे छलफल हुने बताइन्छ।
मंसिर २६, २०८२ शुक्रबार १५:५७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।