ओलीमाथि नैतिक प्रश्न उठाउँदै पाण्डेले भने : आफ्नै विचारमा उभिनुस्, बखेडाको विषय नबनाऔं

ओलीमाथि नैतिक प्रश्न उठाउँदै पाण्डेले भने : आफ्नै विचारमा उभिनुस्, बखेडाको विषय नबनाऔं

काठमाडौं : एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नैतिक प्रश्न उठाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको युवा भेलामा उनले अध्यक्ष ओलीले समय र सुविधा अनुसार आफ्नो बोली फेरेको आरोप लगाए।

पार्टीको विधान, नेतृत्वको कार्यकाल र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे ओलीले विगतमा बोलेको र अहिले व्यवहारमा देखाएको फरकपनप्रति पाण्डेले असन्तुष्टि जनाए।

नवौं महाधिवेशनको प्रसंग कोट्याउँदै पाण्डेले ओलीले त्यसबेला आफू ‘एउटा कक्षामा दोहोर्याएर नपढ्ने’ भनेको प्रसंग स्मरण गराए। तर, अहिले विधान संशोधन गरेर कार्यकाल र उमेर हदसम्बन्धी प्रावधान हटाइएकोमा उनको आपत्ति छ।

'नवौं महाधिवेशनमा उहाँ (ओली)ले म एउटा कक्षामा दोहोर्याएर पढ्दिन भन्नुभएको थियो। तर, अहिले विधान सच्याएर दुवै प्रावधान हटाउनु भयो,' उनले भने, 'हामी यो व्यवस्था पुनःस्थापना गर्न चाहन्छौं। एउटै व्यक्ति दुई पटकभन्दा बढी पार्टी नेतृत्वमा नहुने व्यवस्था गर्न हामी चाहन्छौं।'

पाण्डेले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयमा ओलीको 'द्वैध चरित्र' उदाङ्गो पारे। ओलीले विगतमा पूर्व राष्ट्रपति भण्डारीले सदस्यता नवीकरण गरेर पुनः राजनीतिमा सक्रिय हुन सक्ने भनेको तर अहिले कुरा फेरेको उनको भनाई थियो। 

'स्वयं अध्यक्षले राष्ट्रपति भएको व्यक्ति सदस्य भएर पार्टीको सदस्य बन्न मिल्छ कि मिल्दैन भन्दा बन्न मिल्छ भनेर उहाँले तर्क पनि गर्नुभयो। त्यही कुरा अहिले आएर मिल्दैन भन्नुहुन्छ,’ पाण्डेले भने, 'एउटै विषयमा दुई वटा धारणा एउटै व्यक्तिले गर्छ भने त्यसलाई के भन्ने ? यो नैतिक प्रश्न हुन्छ कि हुँदैन ? एउटै व्यक्तिले एउटै विषयमा भिन्न भिन्न विचार राख्छ भने यो के हो ?’ 

अध्यक्ष ओलीलाई आफ्नै पूर्ववत् विचारमा अडिग रहन चुनौती दिँदै उनले भने, 'अध्यक्ष कमरेड तपाईं आफैँले भनेको विचारमा उभिनुस्। दुई टर्म र पार्टी सदस्यताको विषयलाई बखेडाको विषय नबनाऔं।’

पाण्डेले पार्टीभित्र हुर्किएको ‘चाकडी प्रथा’ को समेत कडा आलोचना गरे। कार्यकर्ताको बीचमा स्थापित नेतालाई पाखा लगाउने र नेताको वरिपरि घुम्नेलाई मात्र योग्य ठान्ने परिपाटी अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। ‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरि लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी हुर्क्यौं। हामी यसको विपक्षमा छौं,’ उनले भने।

पाण्डेले कार्यकर्ता आफैँले मूल्याङ्कन गरेर नेतृत्व छान्ने र पार्टीलाई सामूहिक ढंगले अघि बढाउने पद्धति बसाल्न सके मात्र एमालेलाई कसैले हल्लाउन नसक्ने दाबी गरे। उनले आगामी महाधिवेशनले कार्यकर्ताको मूल्याङ्कनका आधारमा नयाँ र योग्य नेतृत्व छान्नुपर्ने तर्क गरे।

मंसिर २६, २०८२ शुक्रबार १५:१८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।