भागेको आरोपपछि ग्रीनकार्ड लिएको स्वीकार्दै धुर्मुसले भने- भागेका होइनौं, छोरीको उपचार गर्न आएका हौं
काठमाडौं : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको ऋणको भारी र अलपत्र योजनाका कारण चर्चा र विवादमा रहेका कलाकार सीताराम कट्टेल (धुर्मुस)ले आफू सपरिवार अमेरिका पुगेको स्वीकार गरेका छन्।
कार्यक्रम ‘रजतपट’ले उनी अमेरिका भागेको, उतैको ग्रिनकार्ड लिएको र पेट्रोल पम्प तथा लिक्वर सपमा लगानी गरेर बसेको भन्दै समाचार सार्वजनिक गरेपछि धुर्मुसले शुक्रबार बिहान एक लामो ‘बकपत्र’ सार्वजनिक गर्दै स्पष्टीकरण दिएका हुन्।
धुर्मुसले आफूहरूले अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ लिएको स्वीकार गरेका छन्। तर, यो रहरले नभई बाध्यताले लिएको उनले प्रस्ट्याएका छन्।
नेपालमा रहँदा छोरीको उपचार गर्न आर्थिक हैसियतले नभ्याउने र अमेरिकामा कम आम्दानी भएकाका लागि उपचारमा सुविधा हुने भएकाले छोरीको स्वास्थ्यका लागि ग्रिनकार्ड एप्लाइ गरेको उनले बताएका छन्।
धुर्मुसले पहिलो पटक आफ्नी १३ वर्षीया छोरी सुविहानीको गम्भीर स्वास्थ्य समस्याबारे खुलेर कुरा गरेका छन्। जन्मेको १६ दिनमै म्यानेन्जाइटीसको शिकार भएकी छोरीको दाहिने खुट्टाको हड्डीमा इन्फेक्सन भएको उनले बताएका छन्।
‘अहिले छोरीको दाहिने खुट्टा देब्रे खुट्टा भन्दा ७ सेन्टिमिटर सानो छ। हड्डी तन्काउने उपचार लामो र एकदम कष्टकर छ,’ धुर्मुसले लेखेका छन्, ‘नेपाल र भारतका डाक्टरले अमेरिकामा यसको सुरक्षित उपचार हुने सुझाव दिएपछि, रहरले होइन परिस्थितिको दास बनेर हामी अमेरिका आएका हौँ।’
सार्वजनिक भएका समाचारहरूमा दाबी गरिएजस्तो आफूले अमेरिकामा कुनै व्यवसाय सुरु नगरेको उनले बताएका छन्।
‘न त हामीले अमेरिकामा कुनै व्यवसाय सुरु गरेका छौँ, न त कुनै लगानी नै छ,’ उनले भनेका छन्, ‘हामी भागेका होइनौँ, छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन।’
रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ४३ लाख रुपैयाँको ऋणको भारी अझै आफ्नो टाउकोमा रहेको भन्दै उनले राज्यप्रति आक्रोश पोखेका छन्।
भरतपुर महानगरपालिकालाई करिब ६० करोड बराबरको भौतिक संरचना र साढे २ करोडको निर्माण सामग्री जिम्मा लगाउँदा पनि आफूलाई ‘ठग’ करार गर्न खोजिएकोमा उनले दुखेसो गरेका छन्।
‘राज्यले सम्पत्ति सकार्ने, तर दायित्व सकार्ने नमिल्ने यो कस्तो बिडम्बना?’, उनले प्रश्न गरेका छन्।
५ वर्षसम्म सिंहदरबार धाउँदा, मन्त्रिपरिषद्ले निर्णय गर्दा र बजेटमा रकम विनियोजन हुँदा पनि प्रक्रियागत झमेला निकालेर भुक्तानी नदिएको उनले बताए।
ऋणको तनाव र सरकारी अड्डाहरूको गोलचक्करले आफूलाई ‘एन्जाइटी’ भएको र मानसिक तथा शारीरिक रूपमा गलेको उनले उल्लेख गरेका छन्।
धुर्मुसले छोरीको उपचारपछि आफूहरू नेपाल फर्किएर कलाकारितामै रम्न चाहेको बताएका छन्। तर, त्यसका लागि राज्यले रंगशालाको ऋणको पासोबाट मुक्ति दिनुपर्ने उनको माग छ।
‘हामीलाई रंगशालाको समस्याबाट मुक्ति दिएर कलाकारितामा फर्किने वातावरण राज्यले सिर्जना गरिदियोस्’, उनले सरकारसँग विनती गरेका छन्।
मंसिर २६, २०८२ शुक्रबार १०:२९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।