दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी-२० मा भारत ५१ रनले पराजित, डिककको छक्कापछि अर्शदीपले एउटै ओभरमा फ्याँके ७ वाइड
एजेन्सी : भारतको पञ्जाबस्थित न्यु चण्डीगढमा भएको भारत र दक्षिण अफ्रिकाबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५१ रनले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१३ रनको विशाल योगफल तयार पारेको थियो।
दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डि ककले विस्फोटक ब्याटिङ गर्दै ४६ बलमा ९० रन बनाए। उनले आफ्नो पारीमा ७ छक्का र ५ चौका प्रहार गरे।
त्यस्तै, डोनोभान फेरेराले १६ बलमा ३० रन र डेभिड मिलरले १२ बलमा २० रन जोड्दै टोलीलाई बलियो स्थितिमा पुर्याए।
२१४ रनको लक्ष्य पछ्याएको भारतको सुरुवात भने निकै खराब रह्यो। पावरप्लेभित्रै शुभमन गिल, अभिषेक शर्मा र कप्तान सूर्यकुमार यादवको विकेट पतन भयो।
भारतका लागि तिलक वर्माले मात्र डटेर सामाना गरे। उनले ३४ बलमा ६२ रनको योगदान दिए। तर, अन्य ब्याटर चल्न नसक्दा भारतीय टोली १९.१ ओभरमा १६२ रनमै समेटियो।
बलिङतर्फ भारतका वरुण चक्रवर्ती बाहेक अन्य बलरहरू महँगो साबित भए।
विशेषगरी तीव्र गतिका बलर अर्शदीप सिंहका लागि यो खेल बिर्सनलायक रह्यो। उनले ४ ओभरमा ५४ रन खर्चिए भने एकै ओभरमा ७ वटा वाइड बल फ्याँकेका थिए।
एघारौं ओभरमाको पहिलो बलमा क्विन्टन डिककले छक्का प्रहार गरेपछि प्रेसरमा आएका उनले त्यसपछि लगातार दुई बल वाइड फ्याकेँ। त्यसपछि डट बल खेलाएका अर्शदीपले अनि लगातार चार वाइड गरे।
यो जितसँगै ५ खेलको टी-२० शृङ्खला १-१ को बराबरीमा पुगेको छ। यसअघि भएको पहिलो खेलमा भारतले १०१ रनको फराकिलो जित हात पारेको थियो।
मंसिर २६, २०८२ शुक्रबार ०७:५६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।