डार्सी सर्ट भन्छन्- ‘फाइनलमा हामीलाई गुमाउनु केही छैन, दबाब रोयल्सलाई छ’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा स्थान बनाएपछि लुम्बिनी लायन्सका अस्ट्रेलियन ब्याटर डार्सी सर्टले उपाधि भिडन्तमा आफ्नो टोलीलाई कुनै दबाब नहुने बताएका छन्।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सर्टले सुदूरपश्चिम रोयल्सविरुद्धको फाइनल खेलका लागि टोली उच्च मनोबलमा रहेको बताए। लिगको सुरुवाती चरणमा खराब प्रदर्शन गरेको लुम्बिनीले ‘गर या मर’को स्थितिबाट लगातार ५ खेल जितेर फाइनल यात्रा तय गरेको हो।
फाइनल खेलको मानसिकताबारे सोधिएको प्रश्नमा सर्टले भने, ‘हामीसँग गुमाउनु केही छैन। यहाँसम्म आइपुग्न हामीले लगातार पाँच खेल जित्नुपर्ने थियो, जुन हामीले गर्यौं। मलाई लाग्छ फाइनलको दबाब रोयल्समाथि हुनेछ। हामी ‘अन्डरडग’का रूपमा मैदान उत्रिनेछौं र ट्रफी उचाल्ने आशा राखेका छौं।’
अघिल्लो खेलमा काठमाडौं गोर्खाजविरुद्धको ब्याटिङ विश्लेषण गर्दै उनले आफ्नो टोलीले २० रन कम बनाएको स्वीकार गरे। ‘इमानदारीपूर्वक भन्नुपर्दा हामी २० रनले पछि थियौं जस्तो लागेको थियो। तर, हाम्रा बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै सुरुमै विकेट लिएर खेल हाम्रो पक्षमा पारे,’ उनले भने।
लुम्बिनीका कप्तान रोहित पौडेलसँगको सम्बन्धबारे उनले खुलेर प्रशंसा गरे। रोहितसँग इनिङ्स ओपन गर्दा र योजना बनाउँदा राम्रो तालमेल रहेको उनले बताए। ‘हामी खेलको अवस्था र अनुभवबारे धेरै छलफल गर्छौं र सोहीअनुसार गेम प्लान बनाउँछौं,’ उनले थपे।
ओपनिङ जोडीले सोचेजस्तो ठूलो साझेदारी गर्न नसके पनि टिमले रन बनाइरहेको र स्थिति राम्रो रहेको उनको भनाइ थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको पिचबारे सोधिएको प्रश्नमा उनले लगातार खेलहरू भइरहेकाले पिच स्लो र टर्निङ भएको बताए।
‘एउटै विकेटमा धेरै खेल खेल्दा ब्याटिङ गर्न कठिन हुन्छ। यो अस्ट्रेलियाको भन्दा फरक छ, यहाँ अलिकति समय लिएर एडजस्ट हुनुपर्छ। तर सेट भएपछि रन बनाउन सकिन्छ,’ उनले भने। लुम्बिनी लायन्सले शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ।
मंसिर २५, २०८२ बिहीबार २१:५१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।