विराटनगरका ब्याटरलाई चक्मादिँदै लुम्बिनी लायन्स फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

विराटनगरका ब्याटरलाई चक्मादिँदै लुम्बिनी लायन्स फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

काठमाडौं : नेपाल प्रिमियर लिगको लिग चरणका प्रारम्भिक खेलमा लय गुमेझैँ देखिएको लुम्बिनी लायन्सले सातमध्ये ४ खेल जितेर प्लेअफमा पुग्यो। प्लेअफमा काठमाडौं गोर्खाजलाई राम्रै मार्जिनमा पराजित गरेर फाइनलका लागि विराटनगरसँग प्रतिस्पर्धा गरेको उसले बिहीबार चक्मादिँदै फाइनलमा प्रवेश गर्यो।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्यो।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै जम्मा १ सय ३४ रन बनाएको थियो। यो चुनौती त्यति असम्भव हैन।

लुम्बिनीको तर्फबाट ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाएका थिए। सर्टले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि महत्त्वपूर्ण ६९ रनको साझेदारी गरेका थिए। रोहितले ३० बलमा २ चौका र २ छक्कासहित ३४ रन जोडेका थिए। निरोशन डिकवेलाले २९ रन बनाउँदै मध्यमस्कोरमा रोकिएको थियो।

विराटनगरका लागि सुभाष भण्डारी र प्रतिश जिसीले उत्कृष्ट बलिङ गर्दै समान ३/३ विकेट लिएका थिए। कप्तान सन्दीप लामिछानेले २ विकेट लिए।

विराटनगरको ब्याटिङ ध्वस्त

विराटनगरको खेल अनुसार लुम्बिनीले दिएको १३५ को चुनौती असम्भव हैन। तर लुम्बिनीको धारिलो बलिङसामु ब्याटरहरु टिक्न सकेनन् र १७.५ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमै अलआउट भए।

विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन बनाएका थिए। नरेन भट्टले २१ रन र मर्चेन्ट डे लाङले १७ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकसमेत छुन सकेनन्।

लुम्बिनीका लागि तिलक भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले ३ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए।

अभिशेष गौतम र जेजे स्मिथले पनि २/२ विकेट लिएका थिए भने शेर मल्लको नाममा १ विकेट रह्यो।

उपाधिका लागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा

विराटनगरका ब्याटरलाई चक्मादिँदै फाइनलमा पुगेको लुम्बिनीले अब सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणको नतिजा हेर्ने हो भने सूदुरपश्चिमले लुम्बिनीलाई सहजै ४५ रनले हराएको थियो।

एनपिएलमा सूदुरपश्चिमको खेल हेर्दा कमजोर जनपुरसँग समेत हारेको छ। उ चितवन र विराटनगरसँग समेत पराजित भएको थियो।

लुम्बिनी लायन्स लिगको प्रारम्भमा कमजोर देखिए पनि लगातार चार खेल जितेर प्लअफमा पर्न सफल भयो। प्लेअफमा काठमाडौं गोर्खाजलाई पराजित गरेर विराटनगरसँग भेट्दै उसलाई समेत पाराजित गर्दै फाइनलमा पुगेको उसले खेलेको पछिल्लो ६ खेल लगातार जितेर उच्च मनोबलमा देखिन्छ।

मंसिर २५, २०८२ बिहीबार २१:२६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।