अपाङ्ग सङ्घको कार्यालयमा तोडफोड र कुटपिट गर्ने पूर्व अध्यक्ष लामा पक्राउ
काठमाडौं : नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका पूर्व अध्यक्ष साम्देन लामा पक्राउ परेका छन्।
लामाले मङ्सिर २३ गते मंगलबार केन्द्रका नवनिर्वाचित अध्यक्ष यज्ञप्रसाद उप्रेतीसहित अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालयमै कुटपिट गरेका थिए। केन्द्रका पदाधिकारीहरूले उनीमाथि प्रहरीमा जाहेरी दिएपछि बिहीबार उनी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईले लामामाथि थप अनुसन्धान भइरहेको जानकारी दिँदै भने, "लामाले पूर्व अध्यक्ष लगायत पाँच जनालाई कुटपिट गरेको जाहेरी परेपछि पक्राउ गरेको हो। थप अनुसन्धान हुँदै छ। अभद्र व्यवहार गरेको भनेर जाहेरी परेको थियो।"
मंगलबार लामासहित केही 'गुण्डा'हरू आएर केन्द्रको पदाधिकारीहरूको नाम उल्लेख भएको बोर्डसँगै कार्यालयमा तोडफोड समेत भएको थियो। केन्द्रको झापा, धनुषा, दाङ र काठमाडौं शाखाले केन्द्रको नयाँ अध्यक्षमाथि भएको कुटपिटविरुद्धको आपत्ति जनाउँदै विज्ञप्ति निकालेको थियो। लामामाथि यसअघि पनि बलजफ्तीरूपमा केन्द्रको अध्यक्ष बनेको आरोप थियो।
मंसिर २५, २०८२ बिहीबार २१:३१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।