७.८६ अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबारमा सबै सूचक राताम्मे

७.८६ अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबारमा सबै सूचक राताम्मे

काठमाडौं :  धितोपत्र बजारमा लगातार दोस्रो दिन पनि गिरावट जारी रहँदा बुधवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। बुधवार सेयर बजार ७.८६ अंकले घटेर २६०६.६० अंकमा अडिएको छ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य गिरावट आएको छ। मंगलबार ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको मात्र कारोबार भयो। बजारमा ७९ कम्पनीको मूल्य बढ्दा १६९ कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

सबै उपसमूह राताम्मे, गिरावट दर कम

कारोबार भएका सबै उपसमूह (सेक्टर) का सूचकहरू घटेका छन्। यद्यपि, कुनै पनि क्षेत्रको गिरावट दर एक प्रतिशतभन्दा माथि पुगेन।

आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर १० प्रतिशतले वृद्धि भयो। सर्किट लाग्ने कम्पनीहरूमा स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल रहेका छन्। यीमध्ये एसवाई प्यानलको कारोबार आजैबाट सुरु भएको हो। लक्ष्मी लघुवित्तको मूल्य ८.७६ प्रतिशत र थ्रीस्टार हाइड्रोपावरको मूल्य ७.१४ प्रतिशतले बढेको छ।

धेरै गुमाउने र कारोबार हुने कम्पनी

बुधवार सबैभन्दा धेरै मूल्य झापा इनर्जीको घट्यो, जसको मूल्य ९.३० प्रतिशतले तल झर्यो। अन्य बढी घट्ने कम्पनीहरूमा हिमस्टार ऊर्जा कम्पनी ५.०५\%, सुपर मादी हाइड्रोपावर ४.५९\% तथा माबिलुङ इनर्जी ४.४९\% रहेका छन्।

बुधवार श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्सको धेरै कारोबार भयो।

मंसिर २४, २०८२ बुधबार १६:२०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।