आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न हुँदैन : उपाध्यक्ष शाक्य
काठमाडौं : एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेको आसन्न महाधिवेशनले मुलुकमा विद्यमान राजनीतिक तथा संवैधानिक सङ्कटको सामना गर्न सक्ने क्षमतावान् नेतालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बताएकी छन्।
पार्टीको आसन्न ११औँ महाधिवेशनका सन्दर्भमा मंगलबार आयोजित अन्तर्संवाद कार्यक्रममा उनले देशभरका प्रतिनिधिले जेनजी आन्दोलनको भावनालाई समेटेर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताइन्।
तत्कालीन सरकारले जेनजी युवाको भावना बुझ्न नसक्दा देशमा उत्पन्न भएको गम्भीर अवस्थालाई दृष्टिगत गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउँदै उपाध्यक्ष शाक्यले उक्त नेतृत्वले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्ने र देशलाई समृद्धिको बाटोमा लैजान सक्ने विचार व्यक्त गरिन्।
कम्युनिष्ट आन्दोलनको मूलधार एमाले भएको बताउँदै उनले एमाले कमजोर हुँदा राष्ट्रियता कमजोर हुन जाने र देशको अस्तित्व सङ्कटमा पर्ने उल्लेख गरिन्। उपाध्यक्ष शाक्यले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने र नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन्।
मंसिर २३, २०८२ मंगलबार २१:११:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।