उत्तर-दक्षिण कनेक्टिभिटी अति महत्त्वपूर्ण छ : अर्थमन्त्री खनाल
सुदूरपश्चिम : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र र समष्टिगत विकासका लागि उत्तर-दक्षिण सिधा सम्पर्क स्थापित हुने भरपर्दो राजमार्ग आवश्यक रहेको बताएका छन्।
कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव २०८२ को सोमबार उद्घाटन गर्दै उनले गुणस्तरीय र भरपर्दो उत्तर-दक्षिण सडक सञ्जाज नहुँदा सुदूरपश्चिम प्रदेशमा विकासले गति लिन नसकेको धारणा राखे।
अर्थमन्त्री खनालले भने, 'उत्तर-दक्षिण कनेक्टिभिटी अति महत्त्वपूर्ण छ, कनेटिभिटीले नै विभिन्न हावापानी भएको भूगोल, विभिन्न संस्कृति र क्षमता भएकाहरूलाई सहज रूपमा आर्थिक गतिविधिमा सक्रिय बनाउँछ। सुदूरपश्चिममा यही नभएका कारण विकासमा समस्या भयो।'
उनले स्रोतको उपयोग गर्दै ठूला परियोजना अगाडि बढाउनुपर्ने र अधुरा विकास आयोजना सकेसम्म चाँडो सम्पन्न गर्नुपर्छ भन्ने सोचका साथ आफूले काम गरिरहेको बताए।
उनले भने, 'जेनजी युवापुस्ताको आवाजले देशलाई परिवर्तनका लागि अगाडि बढ्न सन्देश दिएको छ। नवयुवाको परिवर्तनको चाहनालाई संस्थागत गर्न तोकिएको फागुन २१ मा निर्वाचन गर्नु छ। हामीसँग धेरै समय, सीमा पनि छैन, तथापि विकासका कामलाई एउटा लयमा लिनका लागि हाम्रो प्रयत्न जारी छ।'
मंसिर २२, २०८२ सोमबार २०:५७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।