दाङमा सिकलसेलका बिरामीलाई ठूलो राहत : ५ हजार जनाको निःशुल्क परीक्षण

दाङमा सिकलसेलका बिरामीलाई ठूलो राहत : ५ हजार जनाको निःशुल्क परीक्षण

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पश्चिम नेपालको थारु समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको ‘सिकलसेल एनिमिया’को बृहत् परीक्षण सुरु गर्ने भएको छ। प्रतिष्ठानले पहिलो चरणमा ५ हजार जनाको निःशुल्क परीक्षण गर्ने तयारी गरेको हो। 

शुक्रबार दाङका १० वटै स्थानीय तहका जनप्रतिनिधिहरूसँगको अन्तरक्रियामा प्रतिष्ठानले अत्याधुनिक मेसिन जडान भएसँगै यो अभियान थालनी गर्न लागिएको जानकारी दिएको हो। प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालका अनुसार परीक्षण अभियान शनिबारदेखि नै सुरु हुनेछ। 

प्रतिष्ठानमा सिकलसेल जाँच्ने मेसिन भित्रिएपछि पहिलो पटक बालबालिकादेखि वृद्ध वृद्धासम्म ५ हजार जनाको नमुना परीक्षण गरेर रोगको वास्तविक अवस्था पत्ता लगाइनेछ। यो परीक्षणले बिरामीको पहिचान मात्र नभई प्रतिष्ठान विश्वविद्यालयको अवधारणामा रहेकाले भविष्यमा अध्ययन र अनुसन्धानका लागि ठूलो मद्दत पुग्ने उनको भनाइ छ। यस अभियानबाट प्राप्त तथ्यांकले रोगको रोकथाम र नियन्त्रणका लागि नीति तर्जुमा गर्न सरकारलाई समेत सहज हुने अपेक्षा गरिएको छ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले अब सिकलसेलको परीक्षण र उपचारका लागि बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको बताए। हाल प्रतिष्ठानमा ३ सय १५ जना सिकलसेलका बिरामीले नियमित औषधि उपचार सेवा लिइरहेका छन्। तथ्यांकअनुसार एक वर्षका शिशुदेखि ६५ वर्षका वृद्धसम्ममा यो रोग देखिएको छ भने एउटै परिवारका चार जनासम्म संक्रमित भेटिएका छन्। यो रोग विशेषगरी थारु समुदायमा बढी देखिए पनि पछिल्लो समय योगी र दलित समुदायमा समेत संक्रमण पुष्टि भएको छ।

वैज्ञानिक अध्ययनअनुसार जहाँ ‘प्लाज्मोडियम फ्याल्सिपेरम’ नामक मलेरियाको प्रकोप बढी हुन्छ, त्यहाँका मानिसमा सिकलसेल एनिमिया बढी देखिएको छ। मलेरियाबाट बच्नका लागि मानव शरीरको रक्तकोषले आफूलाई परिवर्तन गरी गोलो आकारबाट हसिया जस्तो आकारमा बदल्ने प्रक्रिया नै सिकलसेल हो। हसिया आकारको रक्तकोषिकालाई मलेरियाले आक्रमण गर्न नसक्ने भएकाले यो एक प्रकारको प्राकृतिक प्रतिरक्षा प्रणालीको रूपमा विकास भएको मानिन्छ। 

नेपालमा दाङ, कपिलवस्तुदेखि कञ्चनपुरसम्मका थारु समुदायमा यो रोग वंशाणुगत रूपमा देखिएको छ। यो खानपानले सर्ने रोग नभई जिन बाट सर्ने रोग हो। आमा र बुवा दुवैमा सिकलसेल छ भने छोराछोरीमा सर्ने सम्भावना उच्च हुन्छ।

यो रोग लागेका बिरामीमा शरीरमा रगतको कमी हुने अर्थात् रक्तअल्पताको समस्या देखिन्छ। यसका साथै हात-खुट्टाका जोर्नी, मेरुदण्ड र करङ अत्यधिक दुख्ने, जण्डिस देखिने, पेट दुख्ने, कलेजो र फियो सुन्निनेजस्ता लक्षणहरू देखा पर्छन्। विशेषगरी बालबालिकामा जाडोयाममा निमोनियाको जोखिम उच्च हुन्छ। रोग पहिचान नहुँदै ५० प्रतिशत संक्रमित बालबालिकाको निमोनियाका कारण मृत्यु हुने जोखिम रहने चिकित्सकहरू बताउँछन्।

चिकित्सकहरूका अनुसार सिकलसेलको पूर्ण निको हुने यकिन उपचार नभए पनि समयमै पहिचान भएमा जीवन सहज बनाउन सकिन्छ। बिरामीले प्रशस्त पानी पिउन, झोलिलो र पोसिलो खानेकुरा खान तथा अत्यधिक गर्मी र जाडोबाट बच्न आवश्यक हुन्छ, किनकि चरम तापमानमा रक्तकोषिका हसिया आकारमा बदलिने जोखिम रहन्छ। साथै बालबालिकालाई निमोनियाबाट बचाउन नियमित खोप लगाउने र रगत बढाउन फोलिक एसिडको सेवन गर्नुपर्ने सुझाव चिकित्सकहरूको छ। रोगको लक्षण देखिएमा वा शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गई परीक्षण गराउन प्रतिष्ठानले आग्रह गरेको छ।

मंसिर २२, २०८२ सोमबार १५:५३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।