सकिब अल हसनले भने- ‘मैले आधिकारिक रुपमा सन्यास लिएको छैन, घरेलु मैदानमा सिरिज खेलेर मात्र बिदा हुन्छु’
एजेन्सी : बंगलादेशका पूर्व कप्तान तथा स्टार अलराउन्डर सकिब अल हसनले टेष्ट र टी-२० क्रिकेटबाट सन्यास नलिएको बताएका छन्।
लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका सकिबले आफू तीनवटै फर्म्याट (टेष्ट, एकदिवसीय र टी-२०) मा खेल्न इच्छुक रहेको बताएका छन्। आइतबार मोइन अलीको ‘बियर्ड बिफोर विकेट’ पोडकास्टमा बोल्दै सकिबले यो खुलासा गरेका हुन्।
उनले भने, ‘मैले आधिकारिक रूपमा कुनै पनि फर्म्याटबाट सन्यास लिएको छैन। यो कुरा म पहिलो पटक भन्दैछु। मेरो योजना बंगलादेश फर्किने र त्यहाँ एकदिवसीय, टेष्ट र टी-२० को एउटा पूर्ण सिरिज खेलेर मात्र सन्यास लिने हो।’
सकिबले आफ्ना समर्थकहरूलाई घरेलु मैदानबाटै धन्यवाद दिँदै बिदाई हुन चाहेको बताए।
उनले भने, ‘समर्थकहरूले मलाई सधैं साथ दिएका छन्, त्यसैले उनीहरूका लागि घरेलु मैदानमा अन्तिम सिरिज खेल्नु नै मेरो चाहना हो।’
सकिब २०२४ को मे महिनादेखि बंगलादेश फर्किएका छैनन्। गत अगस्ट ५ मा बंगलादेशमा अवामी लिगको सरकार ढलेपछि उनी अप्ठ्यारोमा परेका हुन्। उनी सोही पार्टीका सांसद थिए।
उनीमाथि एक हत्या अभियोगमा उजुरी समेत दर्ता भएको छ, यद्यपि घटनाको समयमा उनी देशबाहिर थिए।
भारतविरुद्धको कानपुर टेष्टपछि उनले कुनै अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। उनले दक्षिण अफ्रिकाविरुद्धको घरेलु सिरिज खेलेर टेष्टबाट सन्यास लिन चाहेका थिए, तर सुरक्षाको कारण देखाउँदै र विरोध प्रदर्शनका कारण उनलाई टिममा समावेश गरिएको थिएन।
अहिले सकिबले आफू बंगलादेश फर्किनेमा आशावादी रहेको बताएका छन्।
साथै, उनले आफ्नो राजनीतिक यात्रा अझै नसकिएको सङ्केत गर्दै भने, ‘क्रिकेटको पाटो पूरा भयो होला, तर राजनीतिक पाटो सायद बाँकी छ। म अझै पनि बंगलादेशका जनताका लागि काम गर्न चाहन्छु।’
मंसिर २२, २०८२ सोमबार १०:२१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।