एनपीएलको प्लेअफका तीन टिम पक्का, चौथो टिमका लागि लिग पनि नकआउट जस्तै रोचक

एनपीएलको प्लेअफका तीन टिम पक्का, चौथो टिमका लागि लिग पनि नकआउट जस्तै रोचक

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरण अन्तिमतिर जाँदै गर्दा प्लेअफको समीकरण निकै रोचक बन्दै गएको छ। तालिकाको शीर्षमा सुदूरपश्चिम रोयल्स ६ खेलमै १२ अङ्कसहित सुरक्षित भइसकेको छ।

लिग चरणका केही खेल मात्रै बाँकी रहँदा प्लेअफका लागि अन्तिम स्थानका लागि गणित झनै पेचिलो बन्दै गएको छ। विशेषगरी जनकपुर, पोखरा, चितवन र लुम्बिनीका खेलहरूले समग्र तालिकाको स्वरूप नै बदल्नेछ। एनपीएलको अन्तिम चरण ‘नकआउट जस्तै लिग’  बन्न पुगेको छ।

सुदूरपश्चिमपछि अन्य दुई टिममा काठमाडौं गुर्खाज र विराटनगर पक्का भइसकेका छन्। तर प्लेअफको चौथो टोलीका लागि बाँकी टिमबीचको प्रतिस्पर्धाले लिगको अन्तिम चरणका खेलहरू निकै रोचक हुने भएको छ।

सातमध्ये ६ खेल खेलेको कर्णाली एक खेल मात्र जितेर प्लेअफको प्रतिस्पर्धाबाट बाहिरिइसकेको छ। बाँकी रहेको लुम्बिनी लायन्स, पोखरा, चितवन र जनकपुर बोल्ट्ससमेत अझै प्लेअफको प्रतिस्पर्धामा छ।

सात खेलमध्ये जनकपुर बोल्ट्सले अहिले ५ खेलमा १ जितसहित २ अङ्कसहित आठौँ स्थानमा छ। तर उसको प्लेअफको सम्भावना सकिइसकेको छैन। उसको नेट रनरेट –०.४९५ रहेको छ। जनकपुरले अन्तिम दुई खेल जिते प्लेअफको ढोका खुल्न सक्छ।

प्लेअफका प्रतिस्पर्धी अर्का दुई टोली हुन् चितवन राइनोज र पोखरा एभेन्जर्स। अंक तालिकामा यी ४ नम्बरसहित पाँचौँ र छैठौमा छन्। यी दुवै अन्तिम खेल खेल्दैछन् त्यो पनि एक अर्का विरुद्ध। त्यसैले यी दुईबीचको खेल जसले जित्छ उ पनि प्लेअफको प्रतिस्पर्धी बन्न सक्छ।

तर त्यसका लागि लुम्बिनी लायन्स आफ्नो अन्तिम खेलमा पराजित हुनुपर्छ। लुम्बिनीले ६ खेलमध्ये तीन खेल जितेर ६ नम्बरसहित चौथो नम्बरमा छ। लुम्बिनी, पोखरा वा चितवनले आ-आफ्नो खेल जितेमा उनीहरू पनि समान ६ अं कमा पुग्नेछन्। अनि प्लेअफका लागि निर्णायक रन रेट बन्नेछ।

अंक तालिकामा सबैभन्दा पुछारमा रहेको जनकपुरले लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल खेल्न बाँकी छ। लुम्बिनी प्लेअफको प्रतिस्पर्धी टिम नै हो। कर्णाली प्लेअफको प्रतिस्पर्धाबाटै बाहिरिइसकेका छ।

तालिकाको पाँचौँ र छैटौँ स्थानमा रहेका पोखरा (४ अंक) र चितवन (४ अंक) बिचको अन्तिम खेल पनि प्लेअफ बराबरीको निर्णायक बन्नेछ। पोखराको नेट रनरेट–०.२४० छ भने  चितवनको –०.६९१ रहेको छ। अन्तिम खेल यी दुवै टिमबीच रहेकाले उनीहरूका लागि यो नकआउट समान हो। यदि लुम्बिनी हारेमा, यीमध्ये एक टोली पनि ६ अं कमा पुगेर प्लेअफ प्रतिस्पर्धी बन्न सक्छ।

मंसिर १८, २०८२ बिहीबार २१:३४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।