शंकर पोखरेलको टिप्पणी : ‘संकटमा नेता विचलित हुन्छन्, पार्टी तल्लो तहले बचाउँछ’
काठमाडौं : एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन्।
एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन भेला बिहीबार यहाँ सम्बोधन गर्दै उनले अहिले राष्ट्र र पार्टीको आन्दोलनमाथि चुनौती भएकाले त्यसलाई सामना गर्नका लागि बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताए।
'अहिलेका चुनौतीलाई सामना गरेर अनुकूल परिस्थिति निर्माण गरिसकेपछि नेतृत्वमा आउने चाहने हामीहरू फेरि प्रतिस्पर्धा गरौला,' उनले भने, 'तर अहिलेको समय चुनौतीलाई सामना गर्ने बलियो नेतृत्व पार्टीमा चाहिएको छ।'
महासचिव पोखरेलले पार्टीमा रहर गर्ने साथीहरूलाई प्रतिस्पर्धा खुला रहेको समेत बताए। उनले पार्टीको तल्लो कार्यकर्ता तहभन्दा माथिल्लो तहमा समस्या रहेको बताए। 'सङ्कट आउँदा माथिल्लो नेतृत्व तह विचलित हुन्छ। तर जति तल तह आयो, त्यो सङ्कट समाधान हुन्छ,' उनले भने।
महासचिव पोखरेलले कार्यकर्ताले पार्टीको रक्षा गर्ने बताए। उनले पार्टीले बनाएका नीति अहिलेका चुनौती सामना गर्न प्रभावकारी स्पष्ट दृष्टिकोण रहेको बताए।
मंसिर १८, २०८२ बिहीबार २१:२८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।