टोलीको तालमेल मिल्दा जित सहज भयो : भीम सार्की

टोलीको तालमेल मिल्दा जित सहज भयो : भीम सार्की

काठमाडौं : काठमाडौं गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको छ। बिहीबार सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाडौं प्लेअफ पुगेको हो।

काठमाडौंलाई प्लेअफमा पुर्याउन बिहीबारको खेलमा भीम सार्कीले महत्त्वपूर्ण भूमिका निभाए। उनी १९ बलमा नै अर्धशतक हिर्काउँदै छिटो अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने। सार्कीले ‘प्लेयर अफ दी म्याच’को पुरस्कार पनि जिते।

प्लेअफमा पुगेपछि भीमले टोलीको तालमेल मिल्दा जित  सहज भएको बताए। सुरुआतका खेलमा तालमेल त्यति राम्रोसँग नमिल्दा जित कठिन भएको उनको भनाइ थियो। बिहीबार टोलीले योजना बनाएअनुसार नै नतिजा आएको सार्कीले बताए।

यस्तै प्रशिक्षक मोन्टी देसाई घरेलु नेपाली खेलाडीबारे राम्रोसँग जानकार रहेकाले त्यसको फाइदा काठमाडौंलाई पुगेको सार्कीले बताए।

पोखरा एभेन्जर्सका धनञ्जय लक्षणले ब्याटिङ नचल्दा जित्नै पर्ने खेलमा हार बेहोर्नुपरेको बताए। शीर्ष क्रमका ब्याटरले राम्रो गर्न नसक्दा पराजित हुनु परेको र आगामी खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने उनको भनाइ थियो। 

मंसिर १८, २०८२ बिहीबार २१:०६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।