एमाले नेतृत्व चयन : अब ‘विद्युतीय मेसिन’बाट भोटिङ
काठमाडौं : एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताए। एमालेले यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो।
'हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौं,' उनले भने, 'टेण्डर आव्हान भइसकेको छ। चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ।'
महाधिवेशनले यसपटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ। गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी सङ्ख्या घटाएको थियो। एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन्।
एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ। महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुने जनाइएको छ।
मंसिर १८, २०८२ बिहीबार १५:०५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।