१७ वर्षदेखि नटुटेको परम्परा, ओन्दे टोलले यसरी बनाउँछ नगर परिक्रमा गराउने विशाल ‘य:मरी’ (फोटो फिचर)
काठमाडौं : नेवार समुदायमा जाडो यामको सुरुवातसँगै एउटा विशेष उत्सवको रौनक छाउँछ- य:मरी पुन्हि।
नेपाल संवत्अनुसार थिल्लाथ्व: पुन्हि अर्थात् मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व काठमाडौं उपत्यकाको सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको छ।
नयाँ धान भित्र्याएको खुसीयालीमा मनाइने यो दिनलाई नेवार समुदायले ‘य:मरी पुन्हि’ र अन्य समुदायले ‘धान्य पूर्णिमा’का रूपमा उल्लासका साथ मनाउँछन्।

यही दिन ज्यापू समुदायले आफ्नो परम्परागत भेषभूषा, बाजागाजा र सांस्कृतिक झाँकीसहित भव्य रूपमा ‘ज्यापू दिवस’ पनि मनाउने गर्छन्।
२०६१ सालदेखि मनाउन थालिएको ज्यापू दिवसको र्यालीमा हरेक वर्ष एउटा विशेष दृश्यले सबैको ध्यान खिच्छ- गाडीमा सजाएर नगर परिक्रमा गराइने विशाल य:मरीको प्रतिमा।

ज्यापू दिवसको र्यालीमा देखिने त्यो विशाल य:मरी बनाउने जिम्मा १७ वर्षदेखि टेकु नजिकैको ओन्दे टोलले लिँदै आएको छ। ज्यापू संस्कृति विकास कोष र ज्यापू दिवसका संस्थापक स्वर्गीय चक्रमान डंगोलको परिकल्पनामा सुरू भएको परम्परा हो यो।
यस वर्ष पनि ओन्दे टोलको सामुदायिक भवन ‘ओन्दे त्वा: छें’ मा य:मरी पुन्हिको अघिल्लो रात बुधबार त्यो विशाल य:मरी तयार पारियो।

मुनी राजा प्रजापतिको नेतृत्वमा ज्ञानी महर्जन, सानुमैया महर्जन, मचारजा महर्जन, सानुराजा महर्जन, सञ्जय महर्जन, प्रवीन प्रजापति र दिनेश महर्जनलगायतको टोली साँझ ७ बजेदेखि नै यो काममा खटिएको थियो। करिब दुई घण्टाको सामूहिक प्रयासपछि राति ९ बजेतिर विशाल य:मरी तयार भयो।
सामान्यतया हत्केलामा अटाउने य:मरीलाई विशाल रूप दिनु चानचुने कुरा होइन। मुनी राजा प्रजापतिका अनुसार यसपटकको य:मरी बनाउन ६० किलो चामलको पिठो, ५ किलो चाकु र २ किलो तिल प्रयोग गरिएको छ । यसका लागि करिब १५ हजार रुपैयाँ खर्च भएको छ।

पिसेको चामलको पिठोलाई तातो पानीले मुछेर ठूलो आकार दिइन्छ। त्यसभित्र चाकु र तिलको मिश्रण भरिन्छ र परम्परागत य:मरीकै कलात्मक स्वरूपमा ढालिन्छ।
अन्तिममा, रन्जना लिपिमा ‘ज्यापू दिवस’ र ‘ओन्दे त्वा: खल’ लेखेर यसलाई पूर्णता दिइन्छ। भोलिपल्ट यही य:मरीलाई गाडीमा राखेर बाजागाजासहित नगर परिक्रमा गराउँदा शहरबासीको आँखा यसैमा अडिन्छ।

नेपाल भाषामा ‘य:’ को अर्थ मनपर्ने वा मिठो र ‘मरी’ को अर्थ रोटी हुन्छ। अर्थात्, सबैलाई मनपर्ने रोटी।
नयाँ धानको चामलको पिठोमा चाकु, तिल वा खुवा भरेर बाफमा पकाइने यो परिकार स्वाद र स्वास्थ्य दुवै हिसाबले जाडोयाममा उपयुक्त मानिन्छ। पछिल्लो समय नेवार समुदायमा मात्र सीमित नभई अन्य समुदायमा पनि यसको लोकप्रियता बढ्दो छ।

यही महत्त्वलाई बुझेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८२ साउन २३ गते य:मरी पुन्हिलाई नेपालको ’अमूर्त सांस्कृतिक सम्पदा’ को सूचीमा सूचीकृत गरेको छ। यो कदमले नेपालको मौलिक पाककलालाई विश्वमाझ चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
आज, य:मरीको बाफसँगै ज्यापू दिवसको सांस्कृतिक धुन गुञ्जिरहँदा ओन्दे टोलले बनाएको त्यो विशाल य:मरीले फेरि एकपटक काठमाडौंको जीवन्त संस्कृतिलाई गौरवका साथ प्रदर्शन गरिरहेको छ।





मंसिर १८, २०८२ बिहीबार १४:४५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।