महिला टी-२० विश्वकप छनोट : नेपालको २६ सदस्यीय प्रारम्भिक टोली घोषणा
काठमाडौं : आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २६ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो।
क्यानका अनुसार प्रारम्भिक टोलीमा इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा र सोमु विष्ट समेटिएका छन्।
त्यस्तै, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, साना प्रविन, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी पनि टोलीमा परेका छन् ।
छनोट भएका खेलाडीहरूले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गर्नेछन्। प्रशिक्षणमा गरेको प्रदर्शनका आधारमा नेपालको अन्तिम टोली घोषणा गरिने क्यानले जनाएको छ।
आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुने ग्लोबल क्वालिफायरमा १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। सहभागी टिममध्ये शीर्ष चार टोलीले सन् २०२६ को जुनमा इङ्गल्याण्डमा हुने महिला टी-२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।
प्रतियोगिताको समूह विभाजन पनि सार्वजनिक भइसकेको छ। जसअनुसार नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड्स र पपुवा न्युगिनी (पीएनजी) रहेका छन्।
यस्तै, समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बावे रहेका छन्।
मंसिर १८, २०८२ बिहीबार १२:४३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।