प्रेमकुमार राई र आरजु राणासहित १० जनालाई ज्यान मार्ने धम्कीपछि सुरक्षा कडा पार्न प्रहरीको सर्कुलर

प्रेमकुमार राई र आरजु राणासहित १० जनालाई ज्यान मार्ने धम्कीपछि सुरक्षा कडा पार्न प्रहरीको सर्कुलर

काठमाडौं : ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक समूहले देशका १० जना विशिष्ट व्यक्तिहरूको ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीले उनीहरूको सुरक्षा व्यवस्था कडा पार्न मातहतका सर्कुलर जारी गरेको छ।

दियोपोस्ट अनलाइनमा उक्त समूहले १० जना विशिष्ट व्यक्तिहरूको नामै तोकेर ज्यान मार्ने धम्की दिएको खबर प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा सतर्कता अपनाउन पत्राचार गरेका हुन्।

प्रहरीको पत्रमा उल्लेख भएअनुसार ज्यान मार्ने धम्की दिइएका १० जना विशिष्ट व्यक्तिहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई, पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की, नेपाल आयल निगमका पूर्व महानिर्देशक गोपाल बहादुर खड्का रहेका छन्।

यसका अलावा पूर्व मन्त्रीहरू रमेश लेखक, बालकृष्ण खाँड र आरजु राणा देउवा पूर्व प्रहरी महानिरीक्षकहरू ओम विक्रम राणा, हेम बहादुर गुरुङ र रमेश चन्द ठकुरी तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको पत्रमा मातहतका सबै प्रहरी वृत्त तथा प्रभागहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

निर्देशनमा भनिएको छ, ‘निजहरूको निवास स्थान, भ्रमण मार्ग तथा कार्यक्रम स्थलहरूमा सम्बन्धित प्रहरी कार्यालयहरूलाई सु-सुचित गराई भरपर्दो सुरक्षा व्यवस्था मिलाउन हुन।’

साथै, पत्रमा उग्रवादी समूहको गतिविधिका बारेमा खबर सङ्कलन गर्न, सादा पोसाकमा समेत प्रहरी परिचालन गरी गोप्य रूपमा सूचना सम्प्रेषण गर्न र ती विशिष्ट व्यक्तिहरूसँग आवश्यक समन्वय गरी सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिइएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसहित तिनै जिल्लाका प्रहरी परिसरलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन परिपत्र गरेका छन्।

प्रहरीले ती व्यक्तिहरू बसोबास गर्ने वडा एरिया अन्तर्गतका प्रहरी इकाईहरूलाई गस्ती र पेट्रोलिङ तीव्र रूपमा गर्न समेत भनेको छ।

मंसिर १८, २०८२ बिहीबार ११:०७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।